एजेन्सी, १३ कार्तिक । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ४९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार शनिवार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ४९ जनाको मृत्यु भएको र कयौँ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये दुई जना विदेशी नागरिक पनि रहेका छन् । भागदौड किन मच्चियो भन्ने खुलेको छैन ।
कोरोना महामारीका कारण तीन वर्षसम्म हालविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहकासाथ सडकमा निस्केर इभ मनाइरहेका थिए । मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेका खबरमा उल्लेख छ । कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।