उपेन्द्र केसी
नेपाली कांग्रेसका पार्टी सभापति एंव प्रधानमन्त्री शेरवहादुर देउवाको मिसन फेरी पनि प्रधानमन्त्री बन्ने नै हो । त्यही प्रधानमन्त्री हुने मिसन पूरा गर्न उनी लागि पर्दै आएका छन् । के –के गर्दा फेरी पनि प्रधानमन्त्री हुन सकिन्छ, त्यही अंक गणितको जोड–घटाउमा देउवा खेलिरहेका छन् । न उनीसँग प्रधानमन्त्री भएपछि देश निर्माण गर्ने रोडम्याप छ, न त संकल्प नै । उनीसँग मात्रै फेरी पनि प्रधानमन्त्री बन्ने हुटहुटी छ ।
कांग्रेस सत्तारुढ पार्टी मात्रै होइन, यो देशको पुरानो पार्टी पनि हो । मुलुकको परिवर्तनमा कांग्रेसको नेतृत्वले हरेक समय महत्वपूर्ण भूमिका पनि खेलेकै हो । लोकतन्त्रको पहरेदार उसले आफूलाई हिजो मात्रै होइन, आज भन्दै आएकै हो । तर, पनि निर्वाचनमा एक्लै चुनाव लड्ने आँट कांग्रैसले किन गर्देन ? सिगो कांग्रेसको नेतृत्व निर्वाचनमा एक्लै जान किन खुट्टा कमाइरहेको छ ? लोकतान्त्रिक मूल्य,मान्यताका लागि लामो समयदेखि लड्दै–भिड्दै आएको बताउने कांग्रेस किन एक्लै निर्वाचनमा जान डराइरहेको छ ? के यी सबै प्रश्नहरुको उत्तर निर्वाचनको बेला मत माग्न जाँदा कांग्रेसीहरुसँग जनताले खोज्ने छैनन ? गठबन्धन गरेर निर्वाचनमा जाँदा प्राविधिक रुपमा कांग्रेस पहिलो शक्ति त होला । तर, सांगठानिक रुपमा कांग्रेस देशको पहिलो र बलियो शक्ति हुन सक्दैन । त्यतिमात्रै होइन, गठबन्धन गरेर जाँदा नयाँ मतदाताहरु जो रुखमा भोट हाल्न चाहन्छन्, उनीहरुले रुखमा भोट हाल्न पाउँदैनन् । त्यो नै कांग्रेसको लागि आउने दिनमा सांगठानिक रुपमा ठूलो घाटा हुनेछ ।
देउवा देशको वाहलवाला प्रधानमन्त्री मात्रै होइनन, उनी नेपाली कांग्रेसका सभापति पनि हुन् । उनी पार्टीका टिके सभापति पनि होइनन्, बकाईदा पार्टी चुनाव लडेर सभापति भएका हुन् । त्यसैले उनको जिम्मेवारी कांग्रेसलाई जिताउने मात्रै होइन, पार्टी संगठनलाई बलियो बनाउने पनि हो । के गर्दा कांग्रेसको सांगठानिक आधार बलियो हुन्छ, उनले त्यही गर्नु पर्ने हो । गएको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस २३ सीट खुम्चिएको थियो । त्यतिबेला पनि यीनै देउवा पार्टी सभापति थिए । निर्वाचनमा पार्टीले शर्मानाक हार व्यर्होर्नु परेको भन्दै पार्टीभित्र यीनको चर्को आलोचना मात्रै भएको थिएन, पार्टी सभापतिबाट यीनको राजीनामा समेत माग गरिएको थियो । देउवाले त्यतिबेला उठेको उनको राजीनामाको स्वरलाई त्यतिकै सामसुम पारिदिए । जब्बर देउवा गल्दै गलेनन् । बरु उल्टै, हारको जिम्मेवारी सबैले लिनु पर्ने भन्दै उनी राजीनामा माग्नेहरु प्रति नै फर्किए ।
त्यो बेग्लै कुरा हो, देउवाले चर्को विरोधको वाबजुद पनि नैतिकताको आधारमा राजीनामा दिएनन् । बरु उल्टै, निर्वाचनमा आफ्नो मात्रै होइन, सबैको कमजोरी रहेको भन्दै प्रतिवाद गरिनै रहे । हिजो वामपन्थीहरु एक हुँदा आफूले हार व्यर्होनु परेको राम्ररी बुझेका देउवा, अहिले वामपन्थीहरुलाई फुटाएर राज गरिरहेका छन् । कुनै बेला आफैले टाउँकोको मूल्य तोकेका प्रचण्डसँग टाउँको जोडिरहेका छन् । एक वर्ष यता, जोडी बनेर शासन सत्तामा उनीहरु लट्पटिरहेका छन् । अहिलेको निर्वाचनमा पनि मिलेर चुनावमा जाने भनेर निर्वाचनको आन्तरिक तयारीमा दिनहूँ जोडी जुटिरहेका छन् । एक्लै निर्वाचनमा जाँदा निर्वाचनको परिणाम आफ्नो पक्षमा आउन नसक्ने देउवाले राम्रैसँग बुझेका छन् । त्यसैले वामपन्थीहरुलाई जुधाएर निर्वाचनमा जाँदा आफ्नो पार्टी देशकै पहिलो हुने सपना देखिरहेका छन् । वृद्ध देउवा गठबन्धन कायम गर्ने कुरामा बडो होशियार रहेका छन् । गठबन्धन गरे मात्रै फेरी पनि प्रधानमन्त्री हुन सकिन्छ भन्ने कुरा बुझेका देउवा कुनै पनि हालतमा गठबन्धन टुटाउनेवाला छैनन् । यसो भनूँ, देउवाका लागि गठबन्धन यतिबेला अनिवार्य आवश्कता हो । त्यसैले त उनले आफ्ना कार्यकर्ताहरुलाई गठबन्धनको विरोध नगर्न निर्देशन दिएका छन् । गठबन्धनले गर्दा नै कांग्रेस प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री समेत भएकाले गठबन्धनको विरोध नगर्न उनले उर्दी जारी गरिसकेका छन् ।
देउवाको सपना, जपना गठबन्धन वाहेक अर्को केही छैन । गठबन्धनले गर्दा आफूलाई फलिफाप भएको महशूस गरिरहेका देउवा गठबन्धन वाहेक कुरा पनि सुन्न चाहँदैनन् । शेखर कोइरालाहरुले १०० सीट नभए कांग्रेसले गठबन्धन गर्नुहुँदैन भन्दै आएको कुरालाई देउवाले सुनेकै छैनन् । कोइरालाहरुले भनेझै कांग्रेसले सय सीटको अट्को थाप्यो भने गठबन्धन हुँदैन भन्ने देउवाले राम्रैसँग बुझेका छन् । उनी जसरी हुन्छ, गठबन्धन कायम गरेर मात्रै निर्वाचनमा जानु पर्छ भन्ने मान्यतामा छन् । त्यो अर्को कुरा हो, देउवाको यही कमजोरी राम्रोसँग बुझेका प्रचण्डले देउवालाई लास्टै गलाएर एकाध सीट भए पनि बढी पाउने खेलोमा लागेका छन् । गठबन्धन कायम गर्न पार्टी सभापति समेत रहेका देउवा जे पनि गर्न तयार छन, भन्ने कूरा कांग्रेसीहरुले पनि राम्रैसँग बुझेका छन् । केही समय अघि बागमती प्रदेशका कांग्रेसका जिल्ला सभापतिहरुले देउवालाई भेटेरै निर्वाचनमा रुखलाई भोट हाल्न पाउन, पर्ने माग राखे थिए । गठबन्धनमा साह्रै लालची देखिएका देउवाले गठबन्धन गर्दा सिगो जिल्ला रुख विहीन बनाउने पो हुन की भन्ने भयका कारण उनीहरुले गठबन्धन गर्दा त्यसो नगर्न देउवाका निवेदन हालेका थिए । तर, देउवाले गठबन्धन गरिरहँदा सिगो जिल्ला रुख विहीन बनाउने हुन कि होइनन,त्यो हेर्न अझै केही दिन पर्खिनु पर्ने छ ।






