काठमाडौँ, २१ भदौ । नेपालले साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई ४–० ले हराएको छ ।
सावित्रा भण्डारी र अनिता बस्नेतले समान दुई गोल गरेपछि नेपालले आज भएको साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई ४–० ले हराएको हो । यससँगै प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।
आजको खेलबाट नेपालका अमिषा कार्की, दीपा शाही र समीक्षा घिमिरेले डेब्यू गरेका थिए । उनै डेब्यू गरेकी अमिषाको पासमा सावित्राले गरेको गोलबाट नेपालले १२औँ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा एक शून्यले अग्रता लिएको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो । सावित्राले ६८औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । साफमा सावित्राले भुटानविरुद्ध गरेको यो दसौँ गोल हो ।





