विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी

झापा, १० भदौ । काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चौकीदार विष्टले सञ्चालन गरेको क्यान्टिनमा बनाइएको छोलामुरी खाजा खाएलगत्तै कक्षा एकदेखि छसम्मका विद्यार्थी बिहीबार दिउँसो बिरामी भएका थिए । 

खाजा खाएकामध्ये २६ जनालाई उपचारका लागि भद्रपुरस्थित मेची अस्पतालमा भर्ना गर्नुपरेको विद्यालयकी शिक्षिका सुभद्रा अर्यालले बताइन् ।खाजा खाएका ती विद्यार्थीलाई ‘फुड पोइजन’ भएको अस्पतालका चिकित्सकले जनाए । क्यान्टिनले दिएको खाजा विषाक्त भएको विद्यालय र प्रहरीको ठहर छ । 

काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले क्यान्टिन सञ्चालक विष्टलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताए । “क्यान्टिनका सञ्चालकलाई सोधपुछ गरेका छौँ”, उनले भने, “बिहीबार बिहानै पकाइएको खाजा दिउँसो विद्यार्थीलाई खान दिइएको रहेछ । गर्मी याममा बिहानको खाजा दिउँसोसम्ममा अमिलिएर विषाक्त भइसकेको ख्याल नगरी लापर्बाही गरेको पाइयो ।”

विद्यार्थीलाई सरकारले दिवा खाजा निःशुल्क उपलब्ध गराउने व्यवस्था छ । विद्यालयका चौकीदारले परिसरभित्रै सञ्चालन गरिरहेको क्यान्टिनलाई रकम दिएर विद्यार्थीका लागि दिवाकालीन निःशुल्क खाजा बनाउन लगाउने गरिएको  थियो । बिहीबार खाजा मात्र विषाक्त नभएर विद्यार्थीलाई दिइएको पानीसमेत दूषित रहेको गुनासो आएको प्रहरीको भनाइ छ । “विद्यार्थीलाई पिउन दिइएको पानीमा मसिना कीरा भेटिएको गुनासो आएको छ, यसबारेमा पनि हामीले अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक महतोले बताए । 

विद्यालयका निमित्त प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले क्यान्टिनले लापर्बाही गरेको विषयमा छानबिन गरिने जानकारी दिए । “विद्यालयले दिवा खाजा निःशुल्क खुवाउने गरेको हो”, उनले भने, “गर्मी थियो, खाजा बासी हो कि भन्ने कुरा आएको छ । अब छानबिन हुन्छ ।” घटनापछि सो क्यान्टिन बन्द गरिएको छ भने क्यान्टिनका खानेकुराको नमूना गुणस्तर जाँचका लागि सम्बन्धित निकायमा पठाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङले जानकारी दिए । विद्यालयकै क्यान्टिनको खाजा विषाक्त भएको घटनाप्रति स्थानीय अभिभावक आक्रोशित भएका छन् । क्यान्टिनले पहिलेदेखि नै लापर्बाही गर्दै आएको गुनासो गर्दासमेत विद्यालय प्रशासनले गुणस्तर जाँचमा ध्यान नदिएको अभिभावकको आरोप थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महोत्तरी, २० भदौ । सोनमा गाउँपालिका–६ मगरथानाबाट प्रहरीले करिब साढे दुई करोडको एयर वर्डस बरामद गरेको छ ।  सशस्त्र प्रहरीले

बाजुरा, २० भदौ । गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ