एजेन्सी, ७ असार । इथियोपियामा २ सय सर्वसाधारणको हत्या भएको छ ।
देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो । ‘मैले २३० शवहरू गनेको छु । मलाई डर छ कि यो हामीले हाम्रो जीवनकालमा देखेका नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला हो,’ गिम्बी काउन्टीका निवासी अब्दुल–सेद ताहिरको भनाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले जनाएको छ । शनिबारको आक्रमणबाट आफू मुस्किलले उम्किएको उनले बताए ।