कोलम्बो, १६ बैशाख । प्रधानमन्त्री महिन्दा राजापाक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे विरुद्ध विरोध प्रदर्शन गर्न राजधानी कोलम्बोको मुख्य समुद्र तट गले फेसमा ठूलो भीड जम्मा भएको हो ।
श्रीलंकाका राष्ट्रपति सचिवालय बाहिर प्रदर्शन स्थलमा आन्दोलनकारीहरूले देशमा आर्थिक संकटको बीचमा सरकारलाई अत्याचारी र नातावादले भरिएको भन्दै नारावाजी गरेका थिए । घटनास्थलमा रहेका एक प्रदर्शनकारीले भने, ‘वर्षौंदेखि राजापाक्षे सरकारले हामीबाट पैसा लिएको छ। उनीहरूले हामीबाट चोरेका छन्। हामी यस अत्याचारबाट थकित छौं किनभने यहाँ नातावाद धेरै छ। जबसम्म तिनीहरू यहाँ छन् तिनीहरूले अर्थव्यवस्था ठीक गर्न सक्षम हुनेछैनन्।’ सरकार विरोधी नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन भएको थियो । बालबालिकाले ‘हामीलाई राम्रो भविष्य चाहिन्छ’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
अरूले आफ्नो आक्रोश पोखाउन ‘राजापक्षको पैसा जम्मा गर्नुहोस्’ ब्यानरहरू प्रदर्शन गरे। विरोध प्रर्दशन यस्तो समयमा भएको छ जब श्रीलंकाले आफ्नो नयाँ वर्ष मनाइरहेको थियो । प्रर्दशनकारीहरुका अनुसार श्रीलंकाली सरकारले आर्थिक अवस्थालाई सम्हाल्न नसकेको भन्दै विरोध प्रदर्शन गर्दै राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीहरूले राजापाक्षे सरकारलाई भ्रष्टाचार र कुशासनको आरोप लगाउँदै आएका छन्।