अब मोबाइलमा कुरा गर्न रूख चढ्नु पर्दैन

म्याग्दी, ३० चैत । म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो । नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा रूख चढ्ने गर्दथे । यसरी धुरी र रूख चढ्नु उनीहरुको बाध्यता थियो । अब भने उपभोक्ताले मोबाइलमा कुरा गर्न धुरी र रुख चढ्नु पर्दैन । नेपाल टेलिकमले धौलागिरि गाउँपालिका–५ मल्कबाङको धुरीमा टावर निर्माण गरेपछि फोन गर्न सहज भएको हो ।

टेलिकमले टुजी र थ्री जी सेवा एकसाथ सञ्चालनमा ल्याएको छ । “दुर्गम गाउँमा टेलिफोनका लागि निकै कठिन थियो, सूचना आदानप्रदान गर्न, आफन्तलाई खबर गर्न र सरकारी कामकाज गर्न र गराउन घण्टौँ पैदल यात्रा गरी सम्बन्धित ठाउँमा पुग्नु पथ्र्यो, तर अब सजिलो भएको छ,” स्थानीयवासी थम्मन थापाले भने । टावर स्थापनापछि धौलागिरि गाउँपालिका–५ मल्कबाङ, मलम्पार, भेडीखाल्टा, होपा, वडा नं ६ को मराङ, बुल गाउँ, रघुगङ्गा गाउँपालिका–८ कुइने खानी तथा मालिका गाउँपालिका–७ बिमको अधिकांश भूभागमा सहजै मोबाइलमा कुरा गर्न सकिने भएको छ । टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए। टेलिकमले अहिले टुजीमार्फत भ्वाइस र थ्रीजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको छ ।

उनले  भने, “दुर्गम स्थानमा कुराकानी गर्न सहज भएको छ, इन्टरनेटमा उनीहरुको पहुँच पुगेको छ ।” सबै बस्ती र भूभाग समेट्ने गरी टावर निर्माण गरिएको शर्माको भनाइ छ । नेपाल टेलिकमसँगको सहकार्यमा स्थायी संरचना निर्माण गरी मोबाइल सेवा पुनः सञ्चालन गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । टेलिकमले उक्त टावरमार्फत फोरजी मोबाइल सेवा उपलब्ध गराउन काम अघि बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति समक्ष समावेशी आयोगले आर्थिक

काठमाडौँ, १२ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिष्टाचार भेटवार्ता भएको छ । 

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालैको बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिप्रति सरकारको