काठमाडौँ, २३ पौष । यो साता धितोपत्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा १६७ दशमलव ९७ अंक बढेको छ ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ५२४ दशमलव ५० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६९२ दशमलव ४७ विन्दुमा पुगेको हो ।
यो साता पाँच दिनको कारोबारमा चार दिन बजार बढेको छ भने एक दिन घटेको छ । सन् २०२२ को पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ६० दशमलव ४१ अंकले बढेको थियो भने दोस्रो दिन ३२ दशमलव ०३ र तेस्रो दिन ६३ दशमलव ०१ ले बढेको थियो । चौथो दिन भने नेप्से परिसूचकमा ३० दशमलव ७७ अंकको करेक्सन भएको थियो । सो दिनको करेक्सनपछि पाँचौ दिन पुनः नेप्से परिसूचक ४३ दशमलव २९ अंकले बढेको हो ।