काठमाडौं, २२ पौष । चोरीको आरोप लागेपछि ‘हे दैव’बोलको गीत युट्युबबाट हटाइएको छ ।
मेलिना राई र किरण गजमेरको स्वर रहेको यो गीत गत सोमबार युट्युबमा सार्वजनिक गरिएको थियो ।
रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत रहेको गीत सार्वजनिक भएसँगै चोरीको आरोप लागेको हो । चोरीको आरोपसँगै यो गीत बुधबार युट्युबबाट हटाइएको हो ।
गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले गीतको शुरुको हरफ नै आफ्नो रचना रहेको गीत ‘भेटिएर छुट्नुभन्दा’बाट हुबहु चोरिएको बताएका छन् । यो गीत २०६१ सालमा रेकर्ड भएर २०६२ सालमा सार्वजनिक भएको गायक एवं संगीतकार कर्णदासको एल्बम ‘आधा सपना’मा समावेश गीत हो । गीतमा कर्णदासको संगीत तथा स्वर रहेको छ ।
गीतकार खड्काले सो गीतले आफूलाई नेपाली गीति लेखनमा पहिचान, सम्मान र स्थापित हुन मद्दत गरेको बताएका छन् । उनले गीतकार सम्पर्कमा नआएपछि मध्यस्थकर्तासँगको कुराकानीपछि युट्युबबाट गीत हटाइएको जानकारी दिएका छन् ।