नेपालले भारतलाई भन्यो: काली मन्दिरसम्मै बिनाअवरोध गस्ती र आउजाउ गर्न पाउनुपर्छ

काठमाडौँ, २३ असार । नेपाली भूभाग अतिक्रमण गरी भारतद्वारा कालापानी क्षेत्रमा निर्मित काली मन्दिरसम्मै आफूले बिनाअवरोध गस्ती र आउजाउ गर्न पाउनुपर्ने प्रस्ताव सशस्त्र प्रहरी बल (एपीएफ)ले भारतको सशस्त्र सीमा बल (एसएसबी) समक्ष राखेको छ ।

नेपाल–भारत सीमा सुरक्षा अधिकारीको गत साता भएको बैठकमा सशस्त्र प्रहरीले यस्तो प्रस्ताव गरेको हो । बैठक भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीदेखि २ सय मिटर वर बसेको थियो । उक्त ठाउँ पनि भारतीय सुरक्षाकर्मीकै नियन्त्रणमा छ ।

बैठकमा नेपालबाट दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुस्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्म हेडक्वार्टरका डीएसपी धीरेन्द्र शाह र भारतका तर्फबाट एसएसबीका असिस्टेन्ट कमान्डेन्ट (एसी) सहभागी थिए । बैठकमा डीएसपी शाहले एसएसबीको क्याम्पनजिकैको काली मन्दिरसम्म सशस्त्र प्रहरीले बिनाअवरोध गस्ती र आउजाउ गर्न पाउनुपर्ने प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार सशस्त्रले राखेको उक्त प्रस्तावमा एसएसबीका अधिकारीले आफूहरू सकारात्मक भए पनि भारतीय सेना र ‘इन्डो–टिबेटन बोर्डर पुलिस’ (आईटीबीपी) ले अवरोध पुर्‍याउने बताएका थिए । सीमा सुरक्षा बैठकमा भारतीय पक्षले भने कुनै एजेन्डा पेस गरेको थिएन ।

सामरिक सुरक्षाका दृष्टिले अति संवेदनशील र महत्त्वपूर्ण मानिएको नेपाली भूभाग हडप्न भारतले कालापानीको खोल्सामा कुवा बनाएर त्यसलाई काली नदीको मुहान दाबी गर्दै आएको छ । उसले त्यही क्षेत्रमा काली मन्दिर पनि खडा गरेको छ । त्यस ठाउँमा भारतीय नागरिकलाई मात्रै कडा सुरक्षा निगरानीमा प्रवेश र दर्शन गर्न दिइन्छ । नेपाली सर्वसाधारणलाई त्यहाँ जान निषेध छ । त्यसैलाई आधार बनाएर भारतले महाकाली नदीवारि पर्ने कालापानी, गुन्जी, नाबी, कुटीलगायतको नेपाली भूभाग अतिक्रमण गरेको छ । कालापानीमा एसएसबी, आईटीबीपी र भारतीय सेनाको क्याम्प छ । नाबीमा सेना र आईटीबीपीको एक/एक कम्पनी तैनाथ छ ।

स्रोतका अनुसार सीमा सुरक्षासम्बन्धी बैठकमा सशस्त्र प्रहरीले कालापानी क्षेत्रमा नियमित गस्ती गर्न पाउनुपर्ने प्रस्ताव राखेपछि एसएसबी ‘असिस्टेन्ट कमान्डेन्ट’ ले विषयान्तर गरेका थिए । काली मन्दिर एसएसबीको कालापानीस्थित क्याम्पनजिकै छ । लिपुखोला तरेर कालापानी आउनुपर्ने हुनाले खोलामा फलामे मोटरेबल पुल बनाइएको छ ।

भारतले त्यही क्षेत्र हुँदै चीन जोड्ने सडक बनाएको छ । कालापानीबाट वर तल्लो कौवामा सशस्त्र प्रहरीको बीओपी राख्ने भनिए पनि अहिलेसम्म संरचना निर्माणको काम अघि बढेको छैन । गृह मन्त्रालयले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा २०७७ वैशाख ३१ गते सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको थियो । चन्दकै नेतृत्वमा सीमा गस्ती गर्ने क्रममा कालापानीबाट ५ सय मिटर वर पुगेपछि एसएसबीको फौज आएर विवाद गरेको थियो । त्यसपछि सशस्त्र प्रहरी अघि बढ्न सकेको थिएन । त्यस क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको तैनाथी नै पहिलोपटक गरिएको थियो । बीओपी स्थापनापछि सशस्त्र प्रहरीले आसपासमा नियमित गस्ती गर्न थालेपछि भारतीय सुरक्षा फौजले पनि सीमा क्षेत्रमा आफ्नो उपस्थिति बढाएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)