काठमाडौँ, १३ असार । कीर्तिमानी इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा प्रवेश गरेको हो । इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक–एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।
जितसँगै इटाली लगातार ३१ खेलमा अपराजित हुने टोली बनेको छ । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।