काठमाडौँ, ९ असार । असारलगत्तै नयाँ शैक्षिक सत्र सुरु भएको छ । धेरै विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन थालिसकेका छन् । फेरि कोरोनाको तेस्रो लहरले बालबालिका बढी प्रभावित हुने आंकलन भइरहेको छ । त्यसैले तत्काल भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने सम्भावना देखिँदैन ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा गएको वर्षकै जस्तो वैकल्पिक विधिबाट चल्नुको उपाय नभएको बताएका छन । त्यसका लागि अघिल्लो वर्ष नै ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका– २०७७’ जारी गरिसकिएकाले त्यसैमा टेकेर पढाइ गराउनुपर्ने उनको भनाइ छ ।
निर्देशिकामा रहेको पाँच समूहमध्ये पहिलो नम्बरमा ग्रामिण क्षेत्रका बालबालिकाका लागि के गर्ने भनेर प्रस्ट रुपमा भनिएकाले त्यसैअनुसार बालबालिकालाई पढाउनुपर्ने उनले बताए । स्रोत, साधनले भ्याए अनुसार र अहिलेको परिवेश अनुसार मन्त्रालयले पालिकाहरुसँग समन्वय गरिरहेको छ र आवश्यक परेमा थप सहयोग गर्ने उनले बताए ।