सभापति देउवालाई दबाब

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन् । उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन् ।  

सभापति देउवाले १४औं महाधिवेशनमा पनि आफू उम्मेदवार बन्न लागेकाले सहयोग गर्न आग्रह गरेको जानकारी दिँदै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले भनिन्, ‘उहाँले म अन्तिमपटक उठ्ने हो, सहयोग गर्नू भन्नुभएको छ। हामीले उपसभापति निधिसहित सम्पूर्ण टिमलाई एक ढिक्का बनाएर अघि बढ्न भनेका छौं ।’

देउवाले उपसभापति निधिलाई अर्को पटक सभापतिको उम्मेदवार बन्न आग्रह गरेका थिए । जवाफमा निधिले आफू धेरै अघि बढिसकेको बताएको देउवाले निकटकालाई सुनाएका छन् । देउवाले आफू टिमका लागि मात्र नभएर सिंगो पार्टीलाई नै एकढिक्का बनाएर अघि बढ्ने पक्षमा रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । ‘म सभापतिमा एकपटक उठ्छु, कुनै दुविधामा नपर्नुहोला,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘विगतमा जस्तै तपाईंहरूबाट सहयोगको अपेक्षा गरेको छु ।’  

सहभागीले १३औं महाधिवेशनमै १४औं महाधिवेशनमा निधिलाई सहयोग गर्ने आश्वासन तपाईं (देउवा)ले दिएको र एक वर्षअघि नै निधिले सभापतिमा आफूले उम्मेदवारी दिने भन्दै सहयोग मागेको विषयमा पनि देउवासँग चासो राखेका थिए । ‘सभापतिमा हाम्रो टिमबाट तपाई निर्विकल्प उम्मेदवार हो,’ सहभागी एक नेताले भने, ‘विमलेन्द्र निधिले पनि सभापतिमा दाबी प्रस्तुत गरेको कुरा बाहिर आएको छ । टिमलाई मिलाएर अघि बढ्नुहोस् । तपाईंले १३औं महाधिवेशनमै उहाँलाई छाड्छु भन्नु भएको कुरा के हो ?’

निधिले सभापतिमा आफू उठ्ने भन्दै सहयोग मागेको स्वीकार गर्दै देउवाले यसपटक आफैं उठ्ने र १५औं महाधिवेशनमा सहयोग गर्ने आश्वासन दिएको बताए । तर त्यसलाई धिनिले अस्वीकार गरेको बताउँदै देउवाले भनेका थिए, ‘१३औं महाधिवेशनका बेला मपछि तँ हो भनेको हुँ । १४औं मै भनेको होइन ।’

१३औं महाधिवेशनमा देउवाले निधिलाई महामन्त्रीको उम्मेदवार बन्न आग्रह गरेको जानकारी दिँदै एक नेताले भने, ‘अहिले केही पनि उम्मेदवार बन्दिनँ, तपाईंलाई सहयोग गर्छु, १४औंमा जेको उम्मेदवार बने पनि बन्छु भनेका थिए ।’ निधिको चाहना उपसभापति बन्ने भए पनि नेता खुमबहादुर खड्कालाई बनाउने एक प्रकारको समझदारी बनेको स्मरण गर्दै उनले भने, ‘उहाँ (निधि)ले मेरो भूमिका के हुन्छ भन्नुभएको थियो । शेरबहादुरजीले महामन्त्रीको उम्मेदवार बन्न भने पनि उहाँले उठ्दिनँ म अहिले सहयोग गर्छ भन्नुभएको हो ।’ १४औं महाधिवेशनमा सहयोग गर्ने भनी दिएको आश्वासनविपरीत देउवा आफैं उम्मेदवार बन्न लागेको भन्दै असन्तुष्ट देखिएका निधि पनि सभापतिमा उम्मेदवारी दिने जनाउँदै तयारीमा जुटेका छन्। यसबाट देउवाका लागि चुनौती थपिएको छ ।  

विधानले फेरि एक पटक उम्मेदवार बन्ने अधिकार आफूलाई दिएको र पार्टीलाई पुरानै अवस्थामा फर्काएर विराम लिने देउवाको दाबी स्वभाविक भएको र उपसभापतिको जिम्मेवारीमा पुगिसकेको नेताले अर्को महाधिवेशनमा आफू नेतृत्वका लागि असान्दर्भिक हुने भएकाले अहिले नै नेतृत्वको दाबी गर्नु अस्वाभाविक नभएको केन्द्रीय सदस्य मीन विक बताउँछन् ।  यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021