अनेम संघले सरकारलाई बुझायो १५ बुँदे ज्ञापनपत्र

काठमाडौँ, १ असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अखि नेपाल महिला संघले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि आगामी दिनमा सरकारले खेल्नुपर्ने भूमिकाहरु समेटेर १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

अनेम संघले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई उक्त १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । पूर्वमन्त्री तथा संघको सहसंयोजक थममाया थापाको नेतृत्वमा गएको टोलीले मन्त्रालयमा पुगी मन्त्री तामाङलाई उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चाँडा भन्दा चाँडो आम नागरिकलाई खोपको व्यवस्था गरी जनताको जीवन रक्षा गर्ने प्रतिवद्धता जनाउनुभयो । सरकारलको पहिलो प्राथमिकता नै जुनसुकै विकल्पमा भएपनि खोप ल्याउने भएको बताउँदै अबको केही महिना भित्रमा नै सम्पूर्ण नागरिकलाई खोप लगाई सक्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

ज्ञापनपत्र

माननीय मन्त्रीज्यू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
रामशहापथ, काठमाडौं ।

विषय : ज्ञापन पत्र ।

विश्वमा कोभिड १९ ले महामारीको रुप लिएको कुरा सर्वविदितै छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । आजका मितिसम्म नेपालमा कोभिड १९ को संक्रमणबाट ६,१०,५२१ संक्रमित भएको र सकृय संक्रमितको संख्या ६५,८०४ रहेको छ । साथै यसका कारण ८,४६५ भन्दा बढिले ज्यान गुमाउनु परेको छ । त्यस्तै संक्रमित व्यक्तिहरु मध्ये ५,३६,२५२ निको भएको सरकारी तत्थ्याङ्क रहेको छ । यसरी, संक्रमित संख्या बढ्दै गएको, यस भाईरसको उपचार विधी नभएको र यसलाई रोक्ने उपाय भ्याक्सिन मात्र भएको हुँदा सरकारले यथासक्य भ्याक्सिनको उपलब्धतामा जोड दिदैं आएको छ ।

यस विषम परिस्थितीमा राष्ट्रप्रमुख र सरकारका तर्फबाट भएका पहलहरु प्रशंसनीय छन् । यसका लागि अखिल नेपाल महिला संघ हार्दिक धन्यवाद व्यक्त गर्दछ । तर अझै पनि सुधार र पहल गर्नुपर्ने विषयहरु थुप्रै रहेको कुरा पनि अवगत गराउन चाहन्छ ।

त्यसैले, कोभिड १९ महामारीको यस जटिल परिस्थितिमा स्वास्थ्यसंग सम्बन्धित केही अति आवश्यक समसामयिक विषयहरुमा नेपाल सरकारको ध्यानाकर्षण गराउनु पर्ने महशुस गरी मन्त्रीज्यू समक्ष नागरिकका संवैधानिक र आधारभूत हक सुरक्षाका लागि दिनरात केही नभनी खटिरहेका स्वास्थ्यकर्मी, विशेष गरी बिरामीको सेवामा हरदम खटिरहने स्वास्थ्यकर्मीहरु ः नर्स, स्वास्थ्य सहायकका रुपमा कार्यरत कर्मचारीहरु, सफाई कर्मी, बिरामीलाई तत्काल अस्पताल पु¥याउन खटिरहने सवारी चालक लगायत उपचारमा विभिन्न ढंगले संलग्न श्रमिकहरुको स्वास्थ्य, सेवा–सुविधा, सामाजिक सुरक्षा लगायतका विषयहरुलाई तत्काल सम्बोधन गरी महामारीलाई जित्नका लागि बलियो आधार तयार गरी जनस्वास्थमा कार्यरत सबैलाई सुरक्षाको प्रत्याभूति गराउने विषयमा सरकारको ध्यानाकर्षण गराउन यो ज्ञापन पत्र पेश गरिएको छ ।

१. सम्पूर्ण नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाउने कुरालाई अधिकारका रुपमा सुनिश्चित गरी यथासम्भव छिटो खोपको व्यवस्था गरियोस । प्राथमिकता निर्धारण गर्दा, स्वास्थ क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षा कर्मी, सफाई कर्मी, सवारी चालकहरुका परिवारहरुलाई पनि प्राथमिकतामा राखिनुपर्दछ ।
२, दिर्घकालिन रुपमा जनशक्ति व्यवस्थापनको लागि अविलम्ब अस्पताल तथा समुदायमा स्वास्थ्यकर्मीहरुको उचीत व्यवस्थापन गरिनुपर्दछ । प्रत्येक स्वास्थ संस्थामा बिरामी र स्वास्थ्यकर्मीको अनुपात तोकिएको मापदण्ड अनुसार लागु गरिनुपर्दछ र यो मापदण्ड निजी स्वास्थ्य संस्थामा पनि लागु गरिनुपर्दछ ।
३. कोभिड १९ को महामारीका कारण आमाबाबु गुमाएका असहाय बालबालिका तथा सन्तान गुमाएर सहयोग आवश्यक पर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तीहरुलाई आवश्यकता अनुसार राज्यले हेरबिचार गर्ने वातावरणको सुनिश्चितता गरिनुपर्दछ ।
४. कार्यस्थलमा सम्पूर्ण स्वास्थ्यकर्मिहरुको सुरक्षाको प्रत्याभुती सहित काम गर्ने स्वच्छ र मर्यादित वातावरणको सुनिश्चतता गरिनुपर्दछ ।
५. गर्भवती महिला तथा स्तनपान गराईरहेका स्वास्थ्यकर्मीहरुको ड्युटी मिलाउँदा नन्कोभिड वार्डमा मिलाईनुपर्दछ ।
६. स्वास्थ्यकर्मीहरुका लागि आधारभुत आवाशिय सुविधा सहितको क्वारेन्टाइन र आइसोलेशन सेन्टरको व्यवस्था गरिनुपर्दछ ।
७. कार्यस्थलमा स्वास्थ्यकर्मी मैत्री वातावरण निर्माणका साथै प्रयाप्त मात्रामा व्यक्तिगत सुरक्षाका साधन (पि.पि.ई) र अन्य अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइनुपर्दछ ।
८. गर्भवती महिला, बालबालिका र जेष्ठ नागरिकहरुलाई आवश्यकता अनुसार विषेश पोषणको व्यवस्था गरिनुपर्दछ ।
९. दिर्घरोगी, गर्भवती, अपाङ्गता भएका महिला तथा बालबालिकाहरुलाई स्वास्थ्य सेवाको सुनिश्चितता, उपचारमा सहजता हुने संयन्त्र तयार गरी प्रभावकारी सेवा प्रदान गरिनुपर्दछ।
१०. कोभिड संक्रमित भएर समुदायमा रहेका बालबालिका, जेष्ठ नागरिक, गर्भवती लगायत असक्तहरुको संरक्षण र सुरक्षाका लािग आम सञ्चार माध्यमबाट सूचना प्रवाह गरिनुका साथै समुदायस्तर मै स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइनुपर्दछ ।
११. बन्दाबन्दीको कारणले काम नपाएर दैनिक छाक टार्न नसकेका असहाय व्यक्तिहरुलाई राज्यबाट विषेश संरक्षण र सुरक्षाको व्यवस्था गरिनुपर्दछ ।
१२. कोभिड १९ को तेश्रो लहर छिट्टै आउन सक्ने र त्यसको प्रभाव बालबालिकामा पर्न सक्ने संभावनालाई मध्यनजर गर्दै, त्यसबाट बालबालिकालाई जोगाउन र उनीहरुको स्वास्थ्य सुरक्षाका लागि उच्च शतर्कता अपनाउँदै, बालमैत्री वातावरणमा उपचार गर्ने र बालअधिकार प्रत्याभूतीका लागि आवश्यक व्यवस्था गरिनुपर्दछ ।
१३. होमआइसोलेसनमा रहनुभएका स्वास्थ्यकर्मी तथा परिवारलाई मनोसामाजिक परामर्शको व्यवस्था सुनिश्चित गरिनुपर्दछ ।
१४. कोभिड संक्रमितको सेवामा खटिएर मृत्युवरण गर्नुभएका स्वास्थ्यकर्मीहरुका सन्तानको पालनपोषणका साथै उच्च शिक्षासम्मको व्यवस्थापनको जिम्मा राज्यद्वारा गरिनुपर्दछ ।
१५. हाल महामारीको कारण भएको बन्दाबन्दीको अवस्थामा महिला तथा बालबालिका विरुद्ध हुने हिंसाबाट उत्पन्न समस्या समाधानका लागि आवश्यक कदम चाल्नुका साथै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्दछ ।
हार्दिक धन्यवाद सहित,

थममाया थापा
सहसंयोजक
बोधार्थः
– सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिंहदरवार काठमाडौ ।
– माननीय मन्त्रीज्यू,
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
सिंहदरवार काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख