भदौमा पनि कांग्रेस महाधिवेशन कठिन

काठमाडौँ, २७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन् । तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन ।

महाधिवेशनका विषयमा आशंका बढ्दै गएपछि सभापति देउवाले बुधबार विज्ञप्ति नै जारी गरेर भदौमै महाधिवेशन गर्ने दोहोर्‍याएका छन् । ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ साल भदौ महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने मैले राम्ररी बुझेको छु ।’

पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउन खोजिएको भन्दै देउवाले असन्तुष्टि जनाएका छन् । ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्नु हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने कार्य हो,’ देउवाले भनेका छन्, ‘यसका लागि सबै जिम्मेवार हुनुपर्छ ।’ असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै तयारी गर्नुपर्ने भन्दै उनले महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमै गरिने जनाएका छन् ।

तर महाधिवेशनको तयारीमा जुट्नुपर्ने पार्टीका शीर्ष नेताहरू नै भदौमा महाधिवेशन गर्न नसकिने जनाउँदै विकल्प खोज्न अनौपचारिक छलफलमा जुटेका छन् । महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता विवाद टुंगो लगाउन लाग्नुपर्ने नेताहरू नै त्यसमै अड्को थापिरहेका छन् । जसले गर्दा बारा, बर्दिया, सप्तरी, भोजपुर, सिन्धुपाल्चोकसहितका कतिपय जिल्लामा अझै क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढ्न सकेको छैन ।

अहिलेसम्म ४ लाख १९ हजार ९ सय ३९ नयाँसहित ८ लाख ३ सय १७ जनाले क्रियाशील सदस्यताका लागि आवेदन दिएका छन् । सदस्यता छानबिन समितिले त्यसको अन्तिम टुंगो लगाउने प्रक्रिया अझै थालेको छैन । महाधिवेशनको कार्यतालिकाअनुसार यसअघि नै सदस्यता छानबिनको काम टुंगो लागिसक्नुपर्ने थियो । अहिलेसम्म सदस्यता छानबिनको काम ठोसरूपमा अघि बढ्न सकेको छैन ।

नेता रामचन्द्र पौडेलसहितका संस्थापन इतर पक्षका नेता भने कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढाउन थालेका छन् । जुनकुनै हालतमा पनि भदौभित्र महाधिवेशन गर्नुपर्ने बताउँदै नेता पौडेलले भने, ‘भदौभित्र कांग्रेस महाधिवेशन अनिवार्य छ। महाधिवेशन नगरे कांग्रेस सकिन्छ ।’ यो समाचार नागरिकका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।