निर्बाध खोला दोहन

File Photo

काठमाडौँ, २२ जेठ । सरकारले ढुंगागिट्टी र क्रसर उद्योग सञ्चालन गर्न दिने नीति यस वर्षको बजेटमा उल्लेख गर्नुअघि नै दुई महिनायता रौतहटस्थित वाग्मती नदीमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन भइरहेको र सामाजिक सञ्जालमा विरोध हुन थालेपछि सञ्चालित आठवटा एक्जाभेटरलाई जिल्ला प्रशासनले नियन्त्रणमा लिएको छ । गढीमाई नगरपालिकाअन्तर्गत पर्ने यस क्षेत्रमा स्थानीयको गुनासो क्रसर सञ्चालकले नसुनेपछि उनीहरूविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेको र स्थानीय पत्रकारहरूको समूह नै क्रसर सञ्चालन स्थलमा पुगेपछि स्थानीय प्रशासनले आठवटा एक्जाभेटर र सात चालकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले वाग्मती नदीमा अवैध उत्खनन भइरहेको जानकारी आउनासाथ प्रहरी परिचालन गरिएको र आठवटा एक्जाभेटरका साथै सात चालकलाई नियन्त्रणमा लिएको बताए । अवैध गिटी उत्खनन तथा भण्डारणको विषयमा थप अनुसन्धान गरिने एसपी शाहको भनाइ छ ।  

सामान्यतः कुनै पनि नदीको ढुंगा, गिट्टी र बालुवा निकाल्दा कति निकाल्ने, कहाँको निकाल्ने भनी इस्टिमेट गरिन्छ तर वाग्मतीमा भने तटबन्धको छेउदेखि पानीको धारसम्म जथाभावी अवैध तरिकाले उत्खनन भइरहेको नागरिककर्मीको स्थलगत भ्रमणमा देखिएको छ । तटबन्धको भित्रपट्टि निजी खेत रहेका केही किसानले उत्खननका कारण आफ्नो बाली र खेतमा समेत उत्खननकर्ताले जबरजस्ती बालुवा, गिट्टी राखेको र हटाउन आग्रह गर्दा धम्की दिने गरेको दुःखेसो पोखे । एकातिर खोलाको अवैध दोहनले बस्ती जोखिममा छ भने अर्कोतर्फ आफ्नो निजी खेतमा पनि क्रसरवालाको दादागिरी बेहोर्नुपरेको उनीहरूले बताएका छन् ।

गत मंसिरदेखि नै दर्जनौं एक्जाभेटरले नियमित तथा अनियमित रूपमा गिट्टी र ढुंगा झिक्दै गरेको र निषेधाज्ञाको समयमा यो क्रम तीव्र रूपमा बढेको गढीमाई नगरपालिका–१ टोकारका बिलटु राय यादवले बताए । गढीमाई नगरपालिकाले समयमा बालुवा, गिट्टी तथा ढुंगाको ठेक्का गराउन नसकेपछि प्रिन्स कन्स्ट्रक्सनसित अमानतमा वाग्मती नदीमा उत्खनन गर्ने सम्झौता गरेको थियो ।

प्रतिमहिना ३० लाख रूपैयाँ नगरपालिकाको खातामा बुझाउनुपर्ने थियो तर गत मंसिरदेखि वाग्मती नदीको ढुंगा, गिट्टी र बालुवा उत्खनन गरिरहेको कन्स्ट्रक्सनले अहिलेसम्म एक महिनाको अमानतबापतको ३० लाख रूपैयाँ मात्र नगरपालिकालाई बुझाएको छ । नगरपालिकाका पदाधिकारीको मिलेमतोमा ढुंगा र गिट्टी झिक्न नसकिएको तथा निषेधाज्ञाका कारण समस्या भएको बताउने र नगरपालिकालाई तिर्नुपर्ने सम्पूर्ण रकम माफ गराउने दाउमा कन्स्ट्रक्सन रहेको स्थानीयको आशंका छ ।  

टोकारका स्थानीय उमेश राय यादवले वडाध्यक्ष राम विनय राय यादवको संलग्नतामा वाग्मती खोलामा व्यापक दोहन भइरहेको आरोप लगाएका छन् । वडाध्यक्ष यादवले आफ्नो एक्जाभेटर नै लगाएर गिट्टी र ढुंगा झिक्ने गरेको आरोप रहेको छ। वाग्मती खोलाबाट निरन्तर गिट्टी र ढुंगा दर्जनौं एक्जाभेटर लगाएर झिक्न थालेपछि गाउँ नै खतरामा परेको स्थानीयको भनाइ छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत