माधव समूहमा ‘फाटो’: चेपुवामा नेता नेपाल

काठमाडौँ, २० जेठ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसितै मिलेर एमालेमा रहने या पार्टी पुनर्गठन गर्ने भन्नेमा एमालेको माधव नेपाल समूहमा फाटो आएको छ । ओलीसँग वार्ता गरेर मिल्नुपर्छ भन्ने दोस्रो पुस्ताका केही नेता र पार्टीलाई पुनर्गठन गरेरै अघि बढ्नुपर्छ भन्ने जनवर्गीय तथा भ्रातृ संगठनका नेता–कार्यकर्ताको चेपुवामा नेता नेपाल छन् ।

गत जेठ १७ गते नेपालपक्षीय वार्ता टोलीका सदस्यहरूले ओली पक्षका वार्ता टोली सदस्यसँग पार्टी एकताका लागि छलफल गरेको र वार्ता समितिमा रहेका अधिकांश व्यक्ति ओली सरकारको मन्त्री बन्दै गरेको सूचना पाएपछि नेपाल समूहका जनवर्गीय संगठनका पदाधिकारी र नेपालबीच बुधबार भर्चुअल संवाद भएको थियो ।

उक्त छलफलमा जनवर्गीय संगठनका अधिकांश सदस्यले माधव नेपालले नेतृत्व गरेको विचार समूहमा बसेर ओलीलाई बलियो बनाउने गरी सिनियर नेताहरू नै लागेको भन्दै त्यस्ता प्रवृत्तिका नेताहरूलाई छाडेर भए पनि अघि बढ्नुपर्ने बताएका थिए ।

‘वार्ता टोलीका संयोजक भीम रावललाई कारबाही भएको छ तर अरू सदस्यहरू एकताका नाममा वार्ता गरिरहेका छन्, यो हाम्रो समूहमा बसेर यही समूहलाई कमजोर बनाउने प्रवृत्ति हो,’ बैठकमा उठेको भनाइ उद्धृत गर्दै नेपालनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, ‘हाम्रो अध्यक्ष कमरेड ओलीबाट कम्युनिस्ट पार्टीको शिरमा बसेर आन्दोलनलाई नै हम्मर हान्ने कुरा भयो, यसले कम्युनिस्ट पार्टी बच्न सक्दैन । उहाँको पदबाहेक सबै विघटन भयो ।’ बैठकमा अधिकांश नेताहरूले आफू कमजोर हुँदा एकता गरौं भन्ने र बलियो हुँदा कारबाही गर्ने ओलीको प्रवृत्ति रहेकाले त्यसबाट बच्नुपर्ने बताएका थिए । उनीहरूले दुईवटा नाउमा टेकेर दोहोरो भूमिका खेल्ने नेताहरूलाई बिर्सिन नेपालसँग आग्रह गरेका थिए । नेपालले यसबारेमा वार्तामा बसेका नेताहरूको राय बुझ्ने बताएका थिए ।

बैठकमा नेता नेपालले आफू सकेसम्म पार्टी एकताबद्ध बनाएरै अघि बढ्नुपर्ने पक्षमा रहेको तर ओलीको उद्देश्य एमाले विभाजन गराउने भएको बताए । उनले वार्ता समितिका सदस्यहरूले पार्टी एकताका लागि राखेका सर्त ओलीले मान्न तयार भए एमाले नयाँ ढंगबाट अघि बढ्ने, नत्र नयाँ पार्टी गठनको प्रक्रिया थाल्नुपर्ने बताएका थिए । ‘मैले सहमतिका लागि ५/६ वटा बुँदा बनाएर दिएको छु, ती बुँदामा सहमति हुनुपर्‍यो,’ नेता नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी अर्का एक नेताले भने, ‘गत फागुन २३ पछिका सबै निर्णय खारेज हुनुपर्‍यो, पार्टी जेठ २ मा फर्किनुपर्‍यो । निर्णय गरेर मात्रै भएन कार्यान्वयन हुुनुपर्‍यो, पार्टीमा एक व्यक्ति एक पद लागू हुनुपर्‍यो ।’ उनले ओलीले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एउटा पद छोडे एकता हुन सक्ने बताएका थिए । ‘तर अहिलेसम्मको प्रगति हेर्दा सहमति हुन सकेको छैन, हामी धेरै अघि बढिसक्यौं,’ नेता नेपालले बैठकमा भनेका थिए ।

ओलीसित मिल्ने नै हो भने पनि आफूहरूको आत्मसम्मानमा ठेस नलाग्ने गरी मात्रै सहमति जुटाउन अधिकांश जनवर्गीय संगठनका सदस्यले सुझाव दिएको युवा संघका अध्यक्ष नरेश शाहीले बताए । ‘बैठकमा आएका कुरा र माधव कमरेडको जवाफअनुसार मिल्नेभन्दा नमिल्ने सम्भावना नै धेरै छ,’ उनले भने ।

नेता नेपालले वार्ता टोलीका संयोजक भीम रावलमाथिको कारबाही फुकुवा नभएसम्म कुनै पनि किसिमको वार्ता नहुने र नेताहरूले व्यक्तिगत तहमा गरेका भेटघाटलाई वार्ता भन्न नहुने बताए । ‘ओलीको बर्बराहटले नै उनी के चाहन्छन् भन्ने प्रस्ट छ, उनले हामीभित्र फुटाउ र राज गर भन्ने नीति लिएका छन्, त्यो हामीले बुझेका छौं, वार्ताका नाममा आएका कुरा खेदजनक छन्,’ नेता नेपालले कान्तिपुरसँग भने, ‘ओलीले नै प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनेर निर्णय फिर्ता लिनुपर्छ, ओलीको सकुनी पासामा कोही पनि पर्नेवाला छैन ।’

ओलीले बेलाबेला वार्ताका नाममा बोलाउने र नेताहरूले दोहोरो रबैया देखाउने गरेकाले नै आफ्नो समूह घाटामा परेको बैठकमा सहभागीहरूको निष्कर्ष थियो । ‘मध्यमार्गी हौं भन्नेहरूले कहिले यता, कहिले उता गर्दा हामीलाई घाटा त भएको छ नि,’ नेपालनिकट अर्का एक नेताले भने, ‘पुस ५ गते हाम्रो समूहमा ४३ जना सांसद थिए, अहिले घटेर २८ हुँदै २३ मा पुगेका छन् । यस्तै चाल हो भने अझै कमजोर भइन्छ, त्यसैले पनि नेतृत्वको ध्यानाकर्षण गराएका हौं ।’

पार्टी एकताका लागि कार्यदल बनाएर संवाद गरिरहेका बेला गत जेठ ६ मा भएको वाग्मतीको राष्ट्रिय सभा चुनावमा एमालेका उम्मेदवार रामबहादुर थापा पराजित भए । सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय गर्‍यो तर ७ गते नेपाल समूहका २६ सांसदले वैकल्पिक प्रधानमन्त्रीका रूपमा देउवालाई समर्थन गरेपछि एमालेमा एकताका लागि भइरहेको संवाद भाँडियो । त्यसपछि तितरवितर भएको वार्ता समूहका केही सदस्यमात्रै निरन्तर छलफलमा बस्ने र कतिपय संवाद नेपालले समेत थाहा नपाउने भएपछि वार्ता टोलीका सदस्यमाथि नै आशंका उत्पन्न भएको नेपालनिकट एक नेताले बताए । बुधबार पनि वार्ता टोलीका संयोजक भीम रावल र रघुजी पन्तबाहेकका नेताहरू र ओली समूहमा रहेका सबै नेताबीच संवाद गर्ने, ओलीसँगै भेटघाट गर्ने तयारी उनीहरूको थियो । पछि आन्तरिक तयारी नपुगेको भन्दै भेटघाट रोकियो, भेटघाट रोकिएसँगै बोलाइएको स्थायी कमिटी बैठक पनि स्थगित भयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेका बेला संवैधानिक इजलास गठनको विषयलाई लिएर प्रश्नहरू उठेपछि एमालेमा आफ्नो समूह मजबुत बनाउने र प्रतिनिधिसभा पुन:स्थापित भइहाले पनि आफू नै प्रधानमन्त्री बन्ने योजना प्रधानमन्त्रीले बनाएको र त्यही योजनाअनुरूप नेपालतिरका सांसदहरूलाई आफूतिर तानिरहेको स्रोतको दाबी छ । उनले आफ्नो समूहका वार्ता टोलीमार्फत नेपाल समूहका वार्ता टोलीलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र सर्वाेच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिए आफू २०७५ जेठ २ मा फर्किन तयार रहेको सन्देश पठाएका थिए । ओलीको सन्देशमा अरू सदस्य तयार भए पनि उपमहासचिव घनश्याम भुसालले ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको र त्यसविरुद्ध आफूहरू उभिएकाले हस्ताक्षर फिर्ता नहुने बताएका थिए ।

स्रोतले बताएअनुसार नेपालपक्षीय नेताहरूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय फिर्ता लिन ओलीपक्षीय नेताहरूसँग प्रस्ताव गरेका थिए । ‘अरू विषयमा लगभग कुरा मिले पनि यो विषयमा सहमति जुट्न सकेन,’ छलफलमा सहभागी एक नेताले भने । भुसालबाहेकका नेताहरूलाई भने सरकारको पुनर्गठन गर्दा मन्त्री नै बनाउने प्रस्ताव ओलीले गरेको उनीनिकट स्रोतको दाबी छ । वार्ता कमिटीमै रहेका नेपालनिकट एक सदस्यले अहिले २०७५ जेठ २ मा फर्किने र २०७७ फागुन २३ पछिका निर्णय खारेज गर्नुपर्ने बटमलाइनमै टेकेर संवाद गरिरहेको बताए । ‘हामी सकेसम्म एमाले विभाजनको पक्षमा छैनौं,’ ती नेताले भने ।

एमाले अध्यक्ष ओलीले नेपाल समूहमा रहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्टलाई सकेसम्म आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् । त्यसैले वार्ता टोलीको जोड पनि उनीहरूसँगकै छलफलमा केन्द्रित छ । त्यसैले २४ घण्टे स्पष्टीकरण सोधेर पनि ओलीले कारबाहीको अरू प्रक्रिया अघि बढाएका छैनन् । यसअघि उनले नेपाल, खनाल र रावलसहित ११ सांसदलाई पार्टीबाट निष्कासन गरेका थिए । निष्कासनमा परेका अधिकांश समानुपातिक सांसद भएकाले कथं प्रतिनिधिसभा पुन:स्थापित भयो भने आफ्नो समूहबाट पदपूर्ति गरेर बलियो बन्ने ओलीको योजना छ । एमालेले यसअघि नै समानुपातिक उमेदवारको बन्दसूची हेरफेर गर्न पाउने अधिकार ओलीलाई दिँदै पार्टीको विधान संशोधन गरिसकेको छ ।

हामीलाई विभाजन गर्न हल्ला चलाइयो’

ओली र नेपालमध्ये कुन समूहमा लाग्ने भन्ने मझधारमा रहेका भनिएका चार नेताहरूले भने आफूहरूलाई विभाजन गर्न ओली समूहमा लागेको भन्ने हल्ला चलाइएको निष्कर्ष निकालेका छन् । बुधबार दिउँसो ३ देखि ८ बजेसम्म नेताहरू भुसाल, पाण्डे, भट्टराई र बिष्ट पाण्डेको निवास स्वयम्भूमा छलफलमा बसेका थिए । ‘हाम्रो समूहमा ओलीजीको जस्तो डिक्टेटरसिप हुँदैन, सबै नेताहरू गणतान्त्रिक छन्, त्यसैले विभिन्न खाले कुरा उठ्नु स्वाभाविक हो,’ छलफलमा सहभागी एक नेताले भने, ‘तर ओलीजीले आफूलाई नसच्याउँदासम्म उहाँको समूहमा जाने भन्ने कुरा हुँदैन, हामीलाई हाम्रै टिमभित्र बदनाम गराउन नचाहिँदो प्रचार गरिएको हो ।’

ती नेताले भनेअनुसार वार्ता टोलीका रूपमा भन्दा पनि व्यक्तिगत रूपमा भएको भेटलाई वार्ता भनेर प्रचार गरिएको हो । ‘हाम्रो वार्ता टोलीका संयोजकलाई कारबाही गरिएको छ, हामी किन जाने भन्नेमै थियौं, उहाँहरूले व्यक्तिगत रूपमा छलफल गरौं, प्रचारबाजी नगरौं भन्नुभयो, छलफलमा गइयो,’ ती नेताले भने, ‘ओलीजीको समूहमा रहेका विभाजन चाहने समूहले वार्ता भनेर प्रचार गराएछ, त्यो गलत हो, यही प्रचार भएकै कारण हामी चारजना बसेर समीक्षा गरेका छौं,’ ती नेताले भने, ‘हाम्रो समूहमा छलफल हुन्छ, आ–आफ्ना विचार आउँछन् तर ओलीजीले जे गरेका कारण हामी आन्दोलनमा छौं, त्यो सन्दर्भमा एकै ठाउँमा छौं । यताको बागी विद्रोही भनेको हामी नै हो, हामी नै एकै ठाउँमा भएपछि समस्या हुने कुरा भएन ।’

ओली समूहले यी चार नेतालाई आफ्नो समूहमा लैजाने तर खनाल–नेपालसहितका नेताहरूलाई पार्टीमा नफर्काउने नीति लिइरहेका बेला आफूहरूको रणनीति तय गर्न यिनीहरू जुटेका हुन् । बिहीबार बस्ने आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा सम्भवत: उनीहरूले आफ्ना कुरा स्पष्ट पार्नेछन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा