महिला आयोगले भन्योः ‘आस्था, विश्वास र एकताको प्रतीक’ राष्ट्रपतिमाथि सुनियोजित प्रहार

काठमाडौँ, १४ जेठ । राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसा नियन्त्रणको लागि भर्चुअल बैठक सम्पन्न गरेको छ ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीको अध्यक्षतामा आज लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी समसामयिक विषयवस्तुमा विभिन्न संवैधानिक आयोगका महिला पदाधिकारीज्यूहरू, महिला अधिकारकर्मीहरू, प्राध्यापक, कानूनविद्, सञ्चारकर्मीहरू लगायत महिलाको हक, हितको क्षेत्रमा काम गरिरहनुभएका विभिन्न सरोकारवालाहरूसित छलफल गर्न भर्चुअल बैठक आयोजना गरिएको छ । बैठकमा महिलाहरूमाथि विभिन्न माध्यम र प्रकारले हुने लैङ्गिक तथा यौनिक हिंसासम्बन्धमा गहन छलफल एवं विचार विमर्श भई त्यस किसिमका हिंसालाई नियन्त्रण गर्न विभिन्न निकायहरूबाट चाल्नुपर्ने कदमहरू सम्बन्धमा विस्तृत छलफल भयो ।

बैठकको शुरुमा आयोगका अध्यक्षले राष्ट्रपति लगायत सार्वजनिक जीवनमा रहनुभएका महिलाहरूलाई लक्षित गरी सुनियोजित तरिकाले विभिन्न व्यक्ति र संस्थाबाट विभिन्न प्रकारका अनर्गल टीका टिप्पणी र समाचारहरू प्रचार(प्रसार हुनुलाई आयोगले महिलामाथिको लैङ्गिक हिंसाको रूपमा लिएको र यसलाई गम्भीर मानव अधिकार हनन र दण्डनीय अपराध मानी दोषीलाई कानूनी कारवाही गर्न राज्यका संयन्त्रहरू क्रियाशील हुनुपर्ने खाँचो ‌औँल्याउनुभयो । उहाँले महिलाको आत्मसम्मान र सुरक्षालाई मानवाधिकारको यौटा महत्त्वपूर्ण पक्षको रूपमा स्वीकार्नुपर्ने कुरा बताउनु हुँदै कसैलाई पनि यस किसिमको लैङ्गिक हिंसा गर्ने छुट नभएको र त्यस्तो कार्य कानूनतः दण्डनीय हुने कुरा बताउनुभयो ।

छलफल कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्रपतिलगायत सार्वजनिक ओहोदामा रहनुभएका विभिन्न महिलाहरूमाथि चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न किसिमका मनगढन्ते र कपोलकल्पित समाचार, कार्टुन चित्र, टिकटक आदि बनाई सामाजिक सञ्जालमा जथाभावी रूपमा प्रचार प्रसार गर्नु खेदजनक र आपत्तिजनक कार्य भएको हुँदा यस्तो कार्यमा संलग्न जोसुकैलाई पनि कानूनको दायरामा ल्याई उचित दण्ड सजाय गर्नुपर्ने कुरामा जोड दिनुभयो । राष्ट्रपति जस्तो सम्पूर्ण नेपालीको आस्था, विश्वास र एकताको प्रतीकको रूपमा रहेको गरिमामय संस्थाको मर्यादामा आँच पुग्ने गरी विभिन्न व्यक्ति र संस्थाबाट भइरहेको अमर्यादित, पूर्वाग्रहपूर्ण र अपमानजनक गाली गलौज अत्यन्त निन्दनीय र भर्त्सानायोग्य कार्य भएको हुँदा त्यस किसिमका कार्यहरू कसैबाट पनि हुन नदिन समग्र नेपाली महिला अधिकारकर्मीहरू एकजुट हुनुपर्ने कुरा बैठकमा सहभागी वक्ताहरूले राख्नुभयो। बैठकमा सहभागी महिलाहरूले सम्माननीय राष्ट्रपतिलाई हतोत्साहित र विवादित बनाउने गरी बद्‍नियतपूर्ण तरिकाले सामाजिक सञ्जालमा भइरहेको टीकाटीप्पणी यौटा सामाजिक अपराध मात्र नभई महिलामाथिको हिंसासमेत भएकोले सबै मिलेर यसको सशक्त प्रतिवाद गर्नुपर्ने खाँचो औँल्याउनुभयो । सम्माननीय राष्ट्रपतिप्रति लैङ्गिक हिंसा हुने गरी गरिएका अतिरञ्जनापूर्ण कार्यहरूलाई सर्वपक्षीय संयन्त्र बनाई प्रतिकार गर्नुपर्ने खाँचो रहेको कुरामा बैठकका सहभागीहरूले जोड दिनुभयो ।

बैठकमा सामाजिक सञ्चालको दुरुपयोग गरी राष्ट्रपतिको व्यक्तिगत जीवन र चरित्रमा आँच पुग्ने गरी अनर्गल दुष्प्रचार गर्नेहरूलाई तत्काल कानूनी कारवाही गर्न र दण्डहीनतालाई तत्काल अन्त्य गर्न राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय र नेपाल प्रहरीले संयुक्त रूपमा कार्य गर्न आवश्यक रहेको कुरा सहभागीहरूले मन्तव्यका क्रममा राख्नुभएको थियो । साथै, महिलालाई जबर्जस्ती लैङ्गिकता र यौनिकता जस्ता विषयसँग जोडेर महिलाको चरित्र हत्या गर्ने दुष्प्रयास गर्नेहरू विरुद्ध कडा कानून बनाई कारवाही गर्नुपर्ने र मुलुकमा व्यक्तिको चरित्र र आचरणलाई लिएर जथाभावी टीकाटिप्पणी गर्नेहरूलाई तत्कालै नियन्त्रणमा लिई कानूनी कारवाही गर्ने व्यवस्था भएमा यस प्रकारका घटनाहरूले आगामी दिनमा प्रश्रय पाउन नसक्ने कुरामा सहभागीहरूले जोड दिनुभयो । बैठकमा सार्वजनिक जीवनमा क्रियाशील कुनै पनि व्यक्तिमाथि यस किसिमका पूर्वाग्रहपूर्ण, अशिष्ट र अमर्यादित अभिव्यक्तिहरू प्रकट नगर्न, नगराउन हुन सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरू, मानवाधिकारकर्मी, बुद्धिजीवी, पेशाकर्मी, नागरिक समाजका अगुवा लगायत स्वतन्त्र व्यक्तिहरूलाई अनुरोध गर्नुपर्ने कुरामा पनि सबै सहभागीहरूले जोड दिनुभयो ।

बैठकमा राष्ट्रिय महिला आयोगका सदस्यद्वय कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा, निर्वाचन आयोगका सदस्य डा. जानकी तुलाधर, राष्ट्रिय मानवधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय दलित आयोगका सदस्य मीना शोभ, राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझा, आदिवासी जनजाति आयोगका सदस्य रिना राना, मधेशी आयोगका सदस्य रेणुदेवी साहका साथै महिला हक अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरू, वरिष्ठ महिला अधिकारकर्मी, कानूनविद्, प्राध्यापक तथा वरिष्ठ महिला सञ्चारकर्मीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।