सत्तास्वार्थ पूरा नहुंदा सरकारविरुद्ध कांग्रेस आक्रमक

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्तास्वार्थका लागि कोभिड–१९ लाई आड बनाएको भन्दै कांग्रेसले भर्त्सना गरेको छ । आमनागरिकको अधिकारलाई कुण्ठित बनाउने गरी निषेधाज्ञालाई कडाइ गर्ने सरकारको नियत गलत भएको कांग्रेसको ठम्याइ छ ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बुधबार बसेको बैठकले कोरोना महामारी नियन्त्रणका लागि नभई आफ्नो असंवैधानिक कदमविरुद्ध सडकमा आउने स्वस्फूर्त विरोधलाई रोक्न सरकारले निषेधाज्ञमा थप कडाइ गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री ओलीले आफ्नो सत्तास्वार्थका लागि नै स्वास्थ्य आपत्काल लगाउने तयारी गरिरहेको भन्दै कांग्रेसले विरोध गरेको छ ।

‘कोभिड फैलिन नदिने गरी निषेधाज्ञालाई व्यवस्थित गरेर आम नागरिकको जीवनयापन सहज बनाउँदै लैजानुपर्नेमा सडकमा चरो मुसो कोही ननिस्कून् भनेर सरकारले आफ्नो सत्तास्वार्थका लागि आम नागरिकलाई आतंकित बनाउने काम गरेको छ । यसलाई हामीले भर्त्सना गरेका छौं,’ बैठकपछि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कान्तिपुरसँग भने ।

सरकारले काठमाडौं उपत्यकामा शुक्रबारबाट एक साता खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरेको छ । आम नागरिकलाई दुई दिनभित्र खाद्यान्न जोह गर्न सरकारले उर्दी जारी गरेको छ । ‘दैनिक ज्यालादारी गरेर गाँस टार्ने विपन्न परिवारले एक साताका लागि कसरी खाद्यान्न जोहो गर्ने ?’ सहमहामन्त्री महतले भने, ‘महामारी नियन्त्रण गर्नेमा प्रधानमन्त्रीको ध्यान छैन । विदेशबाट प्राप्त सहयोगलाई पार्टी र व्यक्तिले आफूले दिएको भन्दै दुरुपयोग गरेका छन् । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारको विश्वसनीयता गुमेको छ ।’

बैठकले आम नागरिकलाई तत्काल खोप व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ । पदाधिकारी बैठकमा नेताहरूले प्रधानमन्त्री ओलीले कोभिडको आडमा आफ्नो निरंकुश शासन अझै अघि बढाउन सक्ने विश्लेषणसमेत गरेको छ । कांग्रेसले प्रधानमन्त्रीको ओलीको निरन्तरता नै असंवैधानिक रूपमा भएको दाबी गर्दै सरकारले गर्ने निर्णयको वैधानिकतामा समेत प्रश्न उठाएको छ ।

संविधानको धारा ७६ (३) अन्तर्गत नियुक्त प्रधानमन्त्रीले प्रतिनिधिसभामा आफ्नो पक्षमा बहुमत सांसद नभएको भनी विश्वासको मत समेत नलिई संविधानको धारा ७६ (५) को प्रक्रिया अघि बढाइसकेको अवस्थामा ओली संवैधानिक रूपमा प्रधानमन्त्री रहन नसक्ने कांग्रेसको ठहर छ । ‘ओलीले संविधानको धारा ७६ (५) अन्तर्गतको प्रधानमन्त्री दाबी नै गर्न मिल्दैन । १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिकामा बुझाइएको पत्र नै शेरबहादुर देउवाको एकल दाबी हुन्छ । उक्त दाबीलाई राष्ट्रपतिले अस्वीकार गर्ने ठाउँ छैन,’ महतले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले

  काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख

काठमाडौँ, ६ असार । थप २ हजार ४ सय ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने ३ हजार ४