विद्युत् आयात घट्यो: आन्तरिक उत्पादन बढ्यो

काठमाडौँ, १० जेठ । निषेधाज्ञाका कारण धेरै कलकारखाना बन्द हुँदा विद्युत्‌को उच्च माग घटेको छ । आन्तरिक उत्पादन बढेको र विद्युत्‌को उच्च माग पनि कम भएका कारण भारतबाट आयात गरिने विद्युत् परिमाण पनि घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार शुक्रबार राति विद्युत्को उच्च माग १ हजार २ सय २६ मेगावाटमा झरेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । निषेधाज्ञा सुरु हुनुअघि विद्युत्को उच्च माग १ हजार ४ सय ५२ मेगावाटसम्म पुगेको थियो । वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशभरका प्रमुख सहरमा निषेधाज्ञा जारी छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूबाट उत्पादन हुने विद्युत् परिमाण बढेकाले भारतबाट आयात घटेको उनको भनाइ छ ।

शुक्रबारको तथ्यांकअनुसार निजी क्षेत्रका आयोजनाबाट ३ सय ५० मेगावाट विद्युत् उत्पादन भएको छ । प्राधिकरणका आयोजनाबाट ३ सय ९० मेगावाट विद्युत् उत्पादन भएको थियो । निजी क्षेत्रको आयोजनाको जडित क्षमता ७ सय ५० मेगावाट पुगे पनि रन अफ रिभर प्रकृतिका आयोजनाबाट सुक्खायाममा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्न ।

चैत र वैशाखमा आन्तरिक उत्पादन न्यून हुँदा कुलेखानीलाई दैनिक केही घण्टा पूर्ण क्षमतामा चलाइएको थियो । अहिले भने कुलेखानी आयोजना सञ्चालन नगरिएको तिम्सिनाले जानकारी दिए । शुक्रबार भारतबाट ४ सय ८७ मेगावाट विद्युत् आयात गरिएको थियो । निषेधाज्ञाअघिसम्म प्राधिकरणले विद्युत् माग धान्न कुल मागको ६५ प्रतिशतभन्दा बढी विद्युत् ल्याइरहेको थियो । आन्तरिक उत्पादन केही बढेपछि र माग पनि कम भएपछि हाल कुल मागको करिब ४० प्रतिशत हाराहारीमा मात्रै विद्युत् आयात भइरहेको छ । बिहीबार विद्युत्को उच्च माग एक हजार ५२ मेगावाटमा सीमित भएको थियो । काठमाडौं उपत्यकामा मात्रै विद्युत्को उच्च माग करिब २ सय ५० मेगावाट हाराहारीमा छ ।

प्राधिकरणले दैनिक आवश्यक पर्ने विद्युत् भारतको इनर्जी एक्सचेञ्ज मार्केटबाट खरिद गरेर ल्याउन सुरु गरेको छ । प्राधिकरणले मे १ तारिखदेखि भारतको इनर्जी एक्सचेञ्जबाट विद्युत् खरिद सुरु गर्न थालेको हो । भारतमा पनि विद्युत् माग कम भएर भाउ घटेकाले इनर्जी एक्सचेञ्जबाट विद्युत् किन्दा प्राधिकरणलाई सस्तो परिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, १५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीका‌ अनुसार सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका कारण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फको उडान

काठमाडौँ, १५ चैत । खोटाङ जिल्लाको विभिन्न स्थानमा ३ करोड खर्चिएर स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । खोटाङ सेवा

काठमाडौँ, १५ चैत । दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई गाउँपालिका वडा नम्बर