एमाले टकरावले संकट: माधव एक्लिदै

काठमाडौँ, ८ जेठ । नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ । एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो । एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि यो संस्थासहित ओली नेतृत्वको सरकार पनि धरापमा परेको छ ।

एमालेमा विवाद समाधानका लागि कार्यदल गठन भए पनि त्यसले राम्रोसँग काम सुरु नगर्दै थप विवाद खडा हुन थाल्यो । कार्यदलको शुक्रबारको बैठकमा समेत सरकार गठनलाई लिएर सबालजबाफ भएको एक सदस्यले बताए । बैठकमा पार्टीका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको विषयमा छलफल भएको थियो । दुवै पक्षबीच हस्ताक्षर ‘दुरुपयोग’ का विषयमा सवाल जवाफ बैठकमा सहभागी सदस्यले भने ।

वरिष्ठ नेता नेपाल निकट सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेपछि पार्टी फुटको तहमा पुगेको तर्क प्रधानमन्त्री ओली निकट नेताले सुनाएपछि त्यही विषयमा बैठक केन्द्रित हुन पुग्यो । बैठकमा पार्टी एकता जोगाउने विषयमा छलफल भएको सदस्यहरूले बताए पनि कार्यदलको औचित्य नै सकिएजसरी कुराकानी भएको स्रोतको दाबी छ ।

‘राष्ट्रिय परिस्थितिबारे सौहाद्र्रपूर्ण छलफल भयो, सबैले आआफ्ना दृष्टिकोण राख्नुभयो । छलफलमा पार्टी एकता जोगाउनुपर्छ भन्नेमा सबैबीच सहमति भएको छ । अर्को बैठक दुवै पक्षको सहमतिमा एकदुई दिनमा राख्नेगरी उठेका छौं,’ कार्यदलका सदस्य रघु पन्तले भने ।

बैठकमा भीम रावलले संसद् विघटन रोक्न देउवाका पक्षमा हस्ताक्षर गरेको जवाफ दिएका थिए । ओली समूहका नेताहरूले भने देउवाको पक्षका गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले देउवाको पक्षमा हस्ताक्षर गर्नु गम्भीर भएको बताएका थिए ।

कार्यदलको बैठक सकिएपछि नेपालनिकटका सांसदमध्ये जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपतिलाई पत्राचार गरेका थिए । त्यस्तै योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर नगरेको बताएका छन् । अहिले पनि आफ्नो ध्यान पार्टी एकतामै रहेकाले देउवालाई प्रधानमन्त्री बनाउने गरी हस्ताक्षर नगरेको उनले बताएका छन् ।

‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ, सही गरें कि गलत गरें, इतिहासको कठोर मूल्यांकनमा खडा छु’, नेता भट्टराईले भने । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, नारायण खतिवडा, गणेश पहाडी, दीपकप्रकाश भट्ट र पवित्रा निरौला खरेलले पनि हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएको बताइएको छ । तर उनीहरूले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

नेपाल पक्षधर नेताहरूले भने कसैको पनि हस्ताक्षर दुरुपयोग नभएको बताएका छन् । नेपाल पक्षका सांसद संसद्को लेखा समितिको हलमा जम्मा भएर हस्ताक्षर गरेका थिए । सांसद विरोध खतिवडाका अनुसार योगेश भट्टराईबाहेक सबै सांसदको हस्ताक्षर भएको थियो । उनका अनुसार सबैले लेखा समितिको हलमा जम्मा भएर हस्ताक्षर गरी माधव नेपाललाई पूर्ण समर्थन दिएर पठाएका थिए। नेपालले पनि सोहीअनुरुप देउवालाई प्रधानमन्त्री बनाउन आफ्ना सांसदको हस्ताक्षर दिएका थिए । यो समाचार नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत