भारतले तत्काल कोरोनाको खोप निर्यात नगर्ने

नयाँ दिल्ली, ५ जेठ । भारतले कम्तीमा पनि आगामी अक्टोबरसम्म कोभिड–१९ को खोप निर्यात गर्न नसक्ने देखिएको सरकारी श्रोतले जनाएको छ । स्वदेशी माग पूरा गर्नका लागि हाल खोपको वितरण देशमै केन्द्रित गराउनुपर्ने भएपछि यसअघि बताइएको भन्दा लामो समयसम्म निर्यात रोकिने भएको छ । यसले विशेषगरी विश्व स्वास्थ्य संगठन, डब्लूएचओको ग्लोबल खोप अभियान, ‘कोभ्याक्स’ को आपूर्तिलाई नराम्ररी प्रभाव पार्ने देखिएको छ ।  

कोरोना संक्रमणको सङ्ख्या विश्वकै सबैभन्दा उच्च बिन्दुमा पुगेपछि भारतले एक महिना अगाडिदेखि खोप देश बाहिर दान गर्ने काम बन्द गरेको हो । यसले हालसम्म ६ करोड ६० लाख बढी डोजहरु निर्यात गरिसकेको छ । यो निर्णयले नेपाल सहित विशेषगरी छिमेकी मुलुक श्रीलंका, बांग्लादेश र अफ्रिकी राष्ट्रहरुलाई वैकल्पिक आपूर्तिको खोजी गर्न बाध्य बनाउने बताइएको छ । त्यस्तै यता कोभ्याक्सको नेतृत्व गरिरहेको गाभी र डब्लूएचओले सोमबार मात्र भारत बाहेकका खोप निर्माताहरुलाई उत्पादन बढाउन र कोभ्याक्स कार्यक्रममा आपूर्ति गर्न पहल गरेका हुन् ।  

संचार एजेन्सी रोयटर्ससँग कुरा गरेका सरकारी श्रोतका अनुसार भारतको खोप अभियान अब केबल देश भित्र मात्र केन्द्रित रहनेछ । खोप प्रदान गर्नैपर्ने बाध्यता नभएको हुँदा आफूहरुले कुनैपनि राष्ट्रलाई यसबारेमा आधिकारिक जानकारी दिन आवश्यक नठानेको उनले बताएका हुन् । उनले थप भनेका हुन्, “हामीले यसबारे आन्तरिक रुपमा छलफल गरेका हौँ र अहिले भारतको अवस्था हेरेर केही देशहरुलाई खोपको अपेक्षा नगर्न भनिएको छ । ” यसमा कुन देश सम्बन्धी उल्लेख गरिएको भनेर उनले नाम चाहिँ दिएनन् । 

यसरी भारतमा दोस्रो लहर केही नियन्त्रणमा आइसकेपछि र स्वास्थ्य प्रणालीको भार कम हुँदै गएमा मात्र खोप निर्यातको काम अघि बढाउन सकिने बताइएको छ । भारतको बाह्य मन्त्रालयले यस विषयमा हाल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।  
‘सेरम इन्सटिच्युट अफ इन्डिया’ का प्रवक्ताका अनुसार अहिले सबै उत्पादन भारतमा मात्र केन्द्रित गराइनेछ । यसअघि उनीहरुले आगामी जुनदेखि देशबाहिर खोप पठाउन सुरु गर्न सक्ने बताएका थिए । 

यस्तोमा कोभ्याक्सले भारतबाट यस महिनाको अन्त्यसम्म प्राप्त गर्ने भनेको १४ करोड खोपको डोज अब भारतमै राखेर त्यहीँ प्रयोग गरिने गाभीकी प्रवक्ताले बताइन् । कोभ्याक्सले भारतको सेरम इन्सटिच्युटसँग एस्ट्राजेनेका या नोभाभ्याक्स खोपको १.१ अर्ब डोज डेलिभर गर्ने सम्झौता गरेको छ । 

यता युनिसेफका प्रमुखले सोमबार जीसेभेनका सदस्य राष्ट्रहरुलाई भारतीय खोप निर्यातमा रोक पश्चात् सिर्जना भएको अभावलाई सम्बोधन गर्न आपत्कालीन उपाय स्वरुप खोप दान गर्न अपील गरेका हुन् । रोयटर्स 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको