गठबन्धन सरकारको प्रयास विफल: प्रधानमन्त्रीको ऐतिहासिक सफलता

काठमाडौँ, ३१ वैशाख । गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिनिधिसभाको तेस्रो ठूलो दल माओवादी केन्द्रले बिहीबार साँझसम्म संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकार गठनका लागि पहल गरेका थिए । तर सत्ता गठबन्धनका लागि निर्णायक जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष वैकल्पिक सरकार गठनका लागि तयार नहुँदा राष्ट्रपतिले दिएको समयभित्र संयुक्त सरकार गठन हुन नसकेको हो ।

बिहीबार राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले समय दिएकी थिइन् । तोकिएको समयमा दलहरूले दाबी प्रस्तुत गर्न नसकेपछि राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुन नसकेपछि राष्ट्रपति भण्डारीले धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए । तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त ओलीले शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको सपथ लिने तय भएको भट्टराईले बताए ।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री बनेका ओली २०७४ को आम निर्वाचनपछि सोही सालको फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । दुवै पटक माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका ओलीले सोही दलले समर्थन फिर्ता लिएपछि वैशाख २७ गते संसद्मा विश्वासको मत गुमाएका थिए ।

ओली नेतृत्वको सरकार विस्थापित गर्न एमालेकै नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सक्रिय भएका थिए । उनीहरूको प्रयास असफल भएको छ । दुई पार्टी एकीकरण भएर बनेको नेकपा अस्तित्वमा हुँदैदेखि ओलीलाई पदबाट हटाउन नेपाल र दाहाल सक्रिय भएका थिए । यही कारण एकीकरणको तीन वर्ष नबित्दै नेकपा फुट्न पुगेको थियो । अदालतले एकीकरणलाई रद्द गरेपछि साबिकका एमाले र माओवादी केन्द्र ब्युँतिन पुगेका थिए ।

दाहाल र नेपालले असहयोग गरेपछि त्यसैलाई कारण देखाएर ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए, जसलाई पछि सर्वोच्च अदालतले बदर गरेको थियो । प्रतिनिधिसभा पुनस्र्थापित भएपछि पनि ओलीलाई विस्थापित गर्ने प्रयास जारी रह्यो । यसै बीच ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेका थिए । नेता नेपालसहित एमालेकै २८ सांसद अनुपस्थित हुनुका साथै माओवादीले पनि समर्थन नदिंदा ओलीले विश्वास गुमाएका थिए । त्यसपछि पनि विकल्प दिन नसक्दा यति बेला ओली अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका हुन् । कम्युनिस्ट पार्टीबाट तीनपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति हुन् । ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुअघि राष्ट्रपति कार्यालयले साँझ ९ बजेसम्म धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी नपरेको जनाएको थियो ।

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास गरेको भए पनि जसपाभित्रको विवादले परिणाम निस्कन दिएन । जसपाभित्रको विवादका कारण संसद्मा बहुमत नपुग्ने स्पष्ट भएपछि कांग्रेस पदाधिकारी र माओवादी स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको दाबी गर्न नजाने निर्णय गरेका हुन् । जसपाका उपेन्द्र यादवसहितका नेताहरू नयाँ सरकारको पक्षमा उभिए पनि ठाकुरसहितका नेताले असहमति जनाएसँगै प्रतिनिधिसभामा गठबन्धन सरकारका पक्षमा बहुमत नजुट्ने अवस्था बन्न पुग्यो । एमालेको असन्तुष्ट पक्षबाट पनि अपेक्षित सहयोग नपाउँदा कांग्रेस–माओवादी प्रयास सार्थक बन्न सकेन ।

राष्ट्रपतिले दिएको समयभित्र आफ्नो पक्षमा बहुमत साबित गरेर प्रधानमन्त्री दाबी गर्न एमाले अध्यक्ष ओलीले पनि प्रयास गरेका थिए । पार्टीभित्रको विवाद केही मत्थर बनाएपछि बिहीबार साँझ उनले जसपा अध्यक्ष ठाकुरलाई बालुवाटार बोलाएर उक्त दलको समर्थनमा संयुक्त सरकार गठनको पहल गरेका थिए । ठाकुरले भने आफ्नो पार्टीभित्र विवाद कायमै रहेको भन्दै समर्थन गर्न अस्वीकार गरेका थिए । कांग्रेस, माओवादीसहितका दलहरूले जसपाका ठाकुरसहितका नेताको समर्थन नभए पनि एमालेको असन्तुष्ट पक्षको समर्थन वा राजीनामाको बलमा नयाँ प्रधानमन्त्री दाबी गर्ने तयारी गरेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा