गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप: राष्ट्रपति कार्यायलाई चिठी

काठमाडौँ, ३० वैशाख । केपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए । ठाकुर र महतोले नयाँ सरकार निर्माणमा आफूहरू तटस्थ रहने बताउँदै आएका छन् । 

ठाकुरनिकट नेता डा. सुरेन्द्र झाका अनुसार बुधबार दिउँसो ठाकुर र महतोले राष्ट्रपति कार्यालय शितल निवास गई राष्ट्रपतिलाई भेटेका थिए । ‘जसपामा दुईवटा पार्टी अध्यक्षको व्यवस्था छ । पहिलो अध्यक्षलाई बेवास्ता गर्दै दोस्रो अध्यक्षले गरेको हस्ताक्षरले पार्टीको प्रतिनिधित्व नगर्ने जानकारी उहाँहरू (ठाकुर र महतो)ले राष्ट्रपतिलाई गराउनुभएको छ,’ झाले भने । उपेन्द्र यादवले गरेको हस्ताक्षरले पार्टीको प्रतिनिधित्व नहुँने भन्दै ठाकुर–महतो पक्षले यसअघि नै राष्ट्रपति कार्यायलाई चिठी लेखेर जानकारी गराएका थिए । निर्वाचन आयोगमा पठाइएको सूचीमा जसपामा दुई वटा अध्यक्षको व्यवस्था गरिएको छ । जसपा स्रोतका अनुसार एउटा अध्यक्षले मात्र गरेको हस्ताक्षरलाई मान्यता दिने कि नदिने भन्ने विषयमा आयोगमा खुलाइएको छैन ।  

राष्ट्रपतिलाई भेट्नुअघि ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेका थिए । प्रधानमन्त्रीसँग ठाकुर र महताको भेट बुधबार एक दिनमा दुईपटक भएको स्रोतको दाबी छ । मंगलबार पनि ठाकुर र महतोले प्रधानमन्त्रीलाई भेटेका थिए । प्रधानमन्त्रीसँगको भेटपछि ठाकुर र महतोले राष्ट्रपतिलाई भेटेका थिए । ठाकुर र महतो आफ्नो अडानमा फेरबदल नभएको झाले बताए। स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा पनि ठाकुर र महतोले आफूहरू अडानमा फेरबदल नभएको सुनाएका थिए ।  

ठाकुर र महतो पक्षधार नेताहरूले बुधबार साँझ पूर्वराष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय बबरमहलमा अनौपचारिक बैठक गरेका थिए। उक्त बैठकमा कित्ता परिवर्तन गरेका महेन्द्र यादवबाहेक पूर्व राजपाका सबै शीर्ष नेताहरू सहभागी थिए । यता उपेन्द्र यादव पक्षका नेताहरूले पनि पूर्वसमाजवादीको पार्टी कार्यालय बालकुमारीमा बैठक गरेका थिए । ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र ठाकुरबीच कुराकानी भएको थियो ।

जसपामा अब कसको हस्ताक्षरलाई वैधानिकता दिने भन्ने विषयमा नयाँ विवाद सुरु भएको छ । ठाकुरनिकट नेताहरू ठाकुर पहिलो अध्यक्ष भएकोले ठाकुरको हस्ताक्षरलाई मान्यता दिनुपर्ने अडान राखेका छन् भने यादव पक्षका नेताहरूले यादवको हस्ताक्षरलाई मान्यता दिनुपर्ने दाबी गरेका छन् । यादव पक्षका नेता इस्तियाक राईले पार्टीको कार्यकारिणी समितिमा यादव बहुमतमा रहेको बताउँदै यादवको हस्ताक्षरले वैधानिकता पाउनुपर्ने दाबी गरे । ‘कार्यकारिणी समितिमा जो बहुमतमा हुन्छ, उसकै हस्ताक्षरले वैधानिकता पाउँछ,’ राईले भने, ‘यथार्थ यही हो ।’  

ठाकुरनिकट डा। झाले भने ठाकुरको हस्ताक्षरले वैधानिकता पाउनुपर्ने बताए । जसपाको संसदीय दलमा ठाकुर र यादव पक्षको बराबर संख्या छ भने कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ । पूर्वराजपाका ३ जना कार्यकारिणी समितिका सदस्य महेन्द्र यादव, गजाधार यादव र रमेश यादवले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगको छन् । यद्यपि, ठाकुर पक्षका नेताहरूले पनि यादव पक्षका केही नेताहरू आफूतिर आएको दाबी गरेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको