भक्तपुर, २३ वैशाख । मध्यपुर नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा अक्सीजन प्लान्ट सञ्चालन गर्ने भएको छ ।
५० लाख रूपैयाँको लगानीमा एक साताभित्र उक्त अस्पतालमा अक्सिजन प्लान्ट राखिने मध्यपुर नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । मेयर श्रेष्ठका अनुसार यो प्लान्टबाट दैनिक ९० सिलीण्डर ग्यास उत्पादन गर्न सकिन्छ । मध्यपुर नगरपालिकाले सञ्चालमा ल्याएको नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा ९ वटा आईसीयू र ७ वटा भेन्टीलेटरसहितका बेड छन् । यी सबै बेड अहिले कोरोना संक्रमितले भरिएका छन् ।
यसैबीच मध्यपुर थिमि नगरपालिकाले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । त्यस्तै चाँगुनारायण नगरपालिकाले नेपाल इञ्जिनियरिङ कलेजमा १०० शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । भक्तपुर नगरपालिकाले ब्रम्हायणीमा ५० बेडको आइसोलेसन र २५ बेडको एचडियू सञ्चालनमा ल्याएको छ ।
यस्तै सूर्यविनायक नगरपालिकाले आईसोलसन केन्द्र सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेका छ । सूर्यविनायक नगरपालिकाले जगातीमा सुविधा सम्पन्न नगर अस्पताल निमार्णको अन्तिम तयारी गरिरहेको छ । निमार्णाधिन नगर अस्पतालका ५० बेडको हुने छ । नगर अस्पताल १५ दिन भित्र तयारी भई सञ्चालनमा आउनेछ ।