माओवादीको नाडी छाम्दै प्रधानमन्त्री ओली

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालेका छन् । एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालेका हुन् । माओवादीका तर्फबाट नियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर ओलीले सीता पौडेल र गंगानारायण यादवलाई नियुक्त गरेका छन् ।

यादव २०७४ सालमा राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन् भने पौडेल एमालेकै महिला नेत्री हुन् । यसअघि २०७६ कात्तिकमा सरकारले सातैवटा प्रदेशका प्रमुख परिवर्तन गरेको थियो । त्यति बेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो ।

पुस ५ गतेपछि तत्कालीन नेकपामा आएको विग्रह र फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराएपछि ओलीले तीनजना प्रदेश प्रमुखलाई पदमुक्त गरिसकेका छन् । यसअघि उनले प्रदेश २ मा माओवादीका तर्फबाट नियुक्ति पाएका तिलक परियारलाई हटाएर राजेश अहिराजलाई नियुक्त गरेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नभएको जनाए पनि औपचारिक रूपमा समर्थन फिर्ता लिएका छैनन् । यसअघि नै ओलीले माओवादीलाई समर्थन फिर्ता लगे हुन्छ भनेर ललकारेका थिए । सार्वजनिक रूपमा राजीनामा माग्ने तर संसद्मा अविश्वासको प्रस्ताव पनि नलैजाने गरेकाले माओवादीसँग क्रुद्ध ओलीले त्यस दलका नेताहरूलाई प्रदेश प्रमुखबाट मुक्त गरेका हुन् ।

वैशाख २७ गते आफैंले पनि संसद्मा विश्वासको मत लिने भएकाले ओलीले सबै प्रदेशमा आफू अनुकूलका नेतालाई प्रदेश प्रमुख नियुक्त गरेको ओली निकट एक नेताको दाबी छ । नयाँ सरकार गठन वा अविश्वास प्रस्ताव लैजाने विषयमा कांग्रेसले पनि माओवादीलाई पत्याएको छैन भने ओलीले पनि माओवादीको नाडी छामिरहेको ती नेताले बताए । ‘माओवादीलाई अहिले कसैले पनि पत्याएका छैनन्, ओलीलाई घुर्की लगाउने र हाम्रो पार्टीको समर्थन छैन भन्ने तर नयाँ सरकारका लागि कसैको पनि समर्थन जुटाउन नसक्ने अवस्थामा माओवादीको कमजोरीमा खेलेर ओलीले धक्का दिएका हुन्’, ओली निकट स्रोतले भन्यो ।

माओवादीका सचेतक देव गुरुङले भने प्रदेश प्रमुखलाई हटाएर ओली सरकारले राजनीतिक द्वन्द्वलाई निम्तो दिएको बताएका छन् । उनले सरकार निषेधको राजनीतितर्फ उन्मुख भएको आरोप पनि लगाए । ‘सरकारले निषेधको राजनीतिलाई आमन्त्रण गरेको छ । ओली सरकारको गैरराजनीतिक निर्णय हो । यसको जति निन्दा गरे पनि पनि कम हुन्छ,’ सचेतक गुरुङले भने ।

एमालेका केन्द्रीय सदस्य एवं माधव नेपाल निकटका नेता ठाकुर गैरेले विगतबाट पाठ सिकेर अहिलेको परिस्थितिलाई एमालेलाई एक ढिक्का बनाउने अवसरमा परिणत गराउन आग्रह गरेका छन् । ‘विगतबाट सिक्न र रूपान्तरित हुन चाहने हो भने कर्णाली, गण्डकी र लुम्बिनीका संसदीय गतिविधि पर्याप्त छन्’, उनले भने, ‘वैशाख २७ आउनुअघि सर्वोच्चको फैसलाबमोजिम नेकपा एमाले केन्द्रीय कमिटी र संसदीय दलको बैठक आयोजना गरी एकढिक्का एमाले संसद्मा प्रस्तुत भई सकारात्मक सन्देश दिन सक्नुपर्छ ।’ यो समाचार आजको नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै