काठमाडौँ, २० बैशाख । नेपालले क्रिकेटको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रियको वरीयतामा एक-एक स्थान सुधार गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हरेक वर्षको मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ । आज जारी गरेको वरीयतामा नेपाल ओडीआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । यस्तै टी-२० आईमा पनि एक स्थान सुधार गर्दै १३औं स्थानमा उक्लेको छ ।
ओडीआईमा नेपाल यसअघि १७औं र युएई १६ औं स्थानमा थियो । युएईलाई पछि पार्दै नेपाल १६ औं स्थानमा उक्लेको हो । नेपालले २०२० फेब्रुअरीमा क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजपछि ओडीआई खेल खेलेको छैन । यस्तै यही वैशाख ४ देखि ११ गतेसम्म नेपालमै भएको त्रिकोणात्मक टी-२० सिरिज जितेको नेपालले टी-२० वरीयतामा सुधार गरेको हो । सिरिज सञ्चालनकै बेलामा पनि नेपालको वरीयतामा तलमाथि भइरहेको थियो । सिरिजको उपाधि जितेपछि नेपाल १४ औं स्थानमा उक्लेको थियो ।
पछिल्लो वरीयतामा नेपालले स्कटल्याण्डलाई पछि पार्दै १३ औं स्थानमा उक्लेको हो । एसोसिएट नेसनतर्फ नेपाल सबैभन्दा अगाडि रहेको छ ।