काभ्रेपलाञ्चोक, २३ चैत । आइतवार एक भव्य कार्यक्रमकाबीच जिल्लाको बेथानचोक गाउँपालिका स्थित श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
क्रिन्जल फाउण्डेशन नेपालको शिक्षा दिक्षा कार्यक्रम अन्तर्गत वितरण गरिएको उक्त छात्रवृत्ति अमेरिकामा बसोबास गर्ने नेपाली विद्यार्थीहरुले गरेको आर्थिक सहयोगबाट गरिएको हो । क्रिन्जल फाउन्डेशनका निर्देशक क्षितिराज लोहानी ( जो हाल अमरिकामा बसोबास गर्नु हुन्छ) द्वारा आर्थिक संकलन गरि सो छात्रवृत्ति वितरण गरिएको जानकारी क्रिन्जल फाउन्डेसनका बोर्ड सदस्य तथा आर्थिक संयोजक आरजु लोहनीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले यो छात्रवृत्ति प्राप्त गर्ने सबै विद्यार्थी क्रिन्जल पारिवार भित्र आवद्ध भएको र ती विद्यार्थीको शैक्षिक पक्षका अलावा अन्य पक्षको विकासमा समेत क्रिन्जलको दायित्व रहेको बताउनुभयो । क्रिन्जलको यो छात्रवृत्ति पहिलो अभियानको रुपमा रहेको र आउँदा दिनहरुमा अरु थप क्षेत्रमा समेत आउँदा दिनमा विभिन्न कार्यक्रम मार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले दाता प्रति हार्दिक आभार वयक्त गर्दै यो सहयोगबाट प्रेरणा लिएर सदैव आफ्नो शैक्षिक उन्नयनमा लाग्न सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । यो सहयोगको कुनै दुरुपयोग नहुने र सम्पूर्ण छात्रवृत्ति रकम विद्यार्थीको सिकाइ प्रयोजनमा मात्र खर्च गरिने योजना अतयन्तै सह्राहनीय रहेको बताउनुभयो ।

फाउन्डेशन मार्फत यो छात्रवृत्ति विद्यालयसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पूर्वविद्यार्थी समुन्द्र तिमल्सिनाले कार्यक्रममा बोल्दै यो कार्यक्रमको श्रेय युवा वैज्ञानिक क्षितिजराज लोहनीलाई जाने कुरा राख्नु भयो । लोहनी आफुले विद्यालयमा अध्ययन गर्दा १५ सय रुपैयाँ शुल्क तिर्न नसकेर विद्यालयबाट निश्कासन हुनु परेको पीडा सम्झेर नेपालमा अध्ययन गर्ने बिपन्न वर्गका वालवालिकाको शैक्षित सुनिश्चितताको लागि आफुले यो कार्यक्रमका लागि अमेरिकामा बसेर यस विद्यालयका विद्यार्थीका लागि सहयोग गर्न तत्पर रहेको कुरा जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति तथा विद्यालय व्यावस्थापन समिति अध्यक्ष भगवान घिमिरेले विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक विकासमा संस्था मार्फत गरिएको सहयोग अत्यन्तै सह्राहनीय हुनुका साथै अन्य संस्थाका लागि समेत सिकाइको विषय रहेको जानकारी गराउनुभयो । विद्यालय प्राधनाध्यापक गोविन्द प्रसाद शर्माले क्रिन्जल परिवारका सम्पूर्ण प्रतिनिधिहरुलाई विद्यालयको तर्फबाट हार्दिक स्वागत गर्नु भएको थियो ।
उक्त कार्यक्रम मार्फत विद्यालयको कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३१ जना विद्यार्थीको लागि छात्रवृत्ति वितरण गरिएको थियो । यस कार्यक्रम मार्फत कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यर्थीका लागि प्रति विद्यार्थी पाँच हजार पाँच सय रुपैयाँ, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी आठ हजार दुई सय पचास रुपैयाँ र कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी एघार हजार रुपैयाँका दरले कुल दुई लाख छब्बीस हजार रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरियो ।
