एजेन्सी, २२ चैत । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेश र फिलिपिन्सले फेरि लकडाउन गरेका छन् ।
दक्षिण एसियाली मुलुक बंगलादेशले एक सातका लागि लकडाउन घोषणा गरेको छ । स्थानीय समयअनुसार भोलि आइतबारबाट लागू हुने गरी बंगालदेश सरकारले लकडाउनको घोषणा गरेको हो। बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन् ।
लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए । उनले अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारू हुने जानकारी दिए । यस्तै फिलिपिन्समा लकडाउनको अवधि फेरि थप गरिएको छ ।
राष्ट्रपति रोड्रिगो डुटेर्टेले अझ कडा लकडाउन लागू गर्ने निर्णय गर्दै अवधि थपेका हुन्। राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। कोरोनभाइरसको महामारी थप फैलिदै गएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले लकडाउनको अवधि फेरि थप्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।
राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले शनिबार टेलिभिजनमार्फत दिएको जानकारीअनुसार सरोकारवाला र विज्ञहरूले लकडाउन फेरि थप्न आवश्यक भएको निश्कर्ष निकाल्दै लकडाउनको अवधि थप्न सुझाव दिँदै सिफारिस गरेकोले थप गरिएको हो । देशको लागुना, बुलाकान, काभित र रिजाल क्षेत्रमा लकडाउनको अवधि लम्बिएको पनि उनले जानकारी दिए । सिन्ह्वा/रासस