काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाका उप–प्रमुख हरिप्रभा खड्गीले लक्ष्यसहित अगाडि बढ्न युवालाई आव्हान गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा जागरण नेपालद्वारा शुक्रवार राजधानीमा आयोजित चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई सम्वोधन गर्दै सो कुरा बताउनुभएको हो । राजनीतिमा धेरै वर्षको मेहनतले आफुले चाहेको क्षेत्रमा हरेक पाईला अगाडि नै बढिरहेको बताउँदै उप प्रमुख खड्गीले किशोर–किशोरीले स्कुल पढ्दादेखि नै भविष्यमा गर्ने काम र पेशाबारे स्पष्ट भएर पढे लक्ष्य हासिल हुने बताउनुभयो । साथै उहाँले काठमाडौँ महानगरपालिकाभित्रको सबै सामुदायिक स्कुलको स्तरउन्नतीको लागि पहल भईरहेको पनि बताउनुभयो ।

जागरण नेपालका अध्यक्ष सम्झना पोखरेलले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने मौकाका लागि जागरण नेपाल सधैं प्रतिवद्ध रहेको बताउनुभयो । महिला दिवसको सन्दर्भमा आयोजित चित्रकला प्रतियोगितामा पद्कन्या विद्याश्रमका जलसा कोइराला प्रथम –(पाँचहजार रुपियाँ), दोस्रो महाङ्काल माविका सरस्वती चौधरी चारहजार रुपियाँ र पद्मोदय माविका प्रश्मी खकुरेलले तीन हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।
त्यसैगरी संस्कृत माविका विजु लिम्बु र पद्मकन्या विद्याश्रमका हिरा थापामगर द्वयले सान्त्वना पुरस्कार दुइ÷दुइ हजार रुपियाँसहि प्रमाणपत्र प्राप्त गर्नुभयो । चित्रकला प्रतियोगितामा पद्मकन्या श्रोत केन्द्र अन्तरगतका नौ वटा सामुदायिक विद्यालयका ३६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

महिला दिवसको यस वर्षको नारा महिला सुरक्षा, समान र रोजगारः समृद्ध नेपालको आधार नारालगायत महिला सशक्तिकरणबारे सन्देश दिने विषय अन्तरगत सञ्चालित चित्रकला प्रतियोगिताको निर्णायक ललितकला क्याम्पसका प्राध्यापक नेमबहादुर तामाङ हुनुहुन्थ्यो । उहाँले विद्यार्थीले बनाएका चित्रकलालाई छनौट गर्दा प्रस्तुती र दिइएको विषयलाई आधार बनाइएको बताउनुभयो । कार्यक्रममा सो स्कुलका प्रधानाध्यापक रीता तिवारीले सामुदायिक विद्यालयमा स्तरीय अध्ययन, अध्यापनका लागि आफुलगायत सबै शिक्षक, स्कुल व्यवस्थापन र अभिभावक पक्ष समेतको सहकार्य रहेको बताउनुभयो ।
उहाँले पढाईका साथै विद्यार्थीमा भएका प्रतिभालाई मञ्च दिन स्कुलमा अतिरिक्त विभाग नै गठन गरी कार्यक्रम सञ्चालन भईरहेको बताउनुभयो ।









