काठमाडौँ, २७ फागुन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । स्पेनिस क्लब बार्सिलोना भने यो सिजन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।
बार्सिलोना पीएसजीसँग समग्रमा ५–२ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । बुधबार राति भएको दोस्रो लेगमा पीएसजीसँग १–१ गोलको बराबरी खेलेको थियो । बार्सिलोना पहिलो लेगमा ४–१ गोलले पराजित भएको थियो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा पीएसजीका लागि खेलको ३१ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्यूरी समयमा मेस्सीले पेनाल्टी मिस गरेका थिए ।
बार्सिलोना सन् २००६/०७ को सिजनपछि पहिलोपटक क्वाटरफाइनलमा पुग्न असफल भएको हो ।






