धनगडी, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको पार्टीले दुनियाँलाई झुक्याउने काम गरिरहेको आरोप लगाउनुभएको छ ।
मंगलबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा नेता महतोले प्रधानमन्त्री तथा नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओली नै भएकाले ओलीलाई हटाएको भनि दुनियाँलाई झुक्याउने काम माधव–प्रचण्डद्वारा भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको उल्लेख गदै नेता महतोले ओलीलाई हटाउने तागत नेकपालाई मात्रै रहेको बताउनुभयो । प्रतिपक्षमा रहेका काँग्रेस र जसपा मिल्दा पनि नेकपाले निर्णय नगरेसम्म कम्युनिष्ट सरकारको विकल्प तयार नहुने उहाँको भनाइ छ । अहिलेसम्म नेकपा एक रहेको र कानुनी रुपमा नफुटेसम्म बैकल्पिक सरकारका लागि कुनै छलफल आवश्यकता नभएको महतोको भनाइ छ ।
उहाँले भन्नुभययो, ‘काँग्रेस र जसपा मिलेर पनि हाम्रो बहुमत पुग्दैन। ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नेकपाले नै हो । अहिले पनि ओलीजी पार्टी अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ । खोइ त हटाएको ? हटाउन सक्नुपर्यो नि ! दुनियाँलाई झुक्याउने काम भइरहेको छ । अस्ति प्रचण्डजीले छलफलमा बोलाउनुभएको थियो । संसद र सरकारमा मिलेर जाने सिधा प्रस्ताव राख्नुभयो । मैले सुरुमै तपाइँहरु कुन पार्टीको भनेर सोधेँ ।’