जनजीवनमा नदेखिने परिवर्तनको कुनै अर्थ छैन : मुख्यमन्त्री पौडेल

काठमाडौँ, ७ फागुन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको जीवनमा नदेखिने परिवर्तनको कुनै अर्थ नरहेको बताउनुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा आज प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधनगर्दै मुख्यमन्त्री पौडेलले व्यवस्था बदलिने तर जनताको अवस्था नबदलिने विगतको नजिरलाई बदल्दा मात्र उज्यालो भविष्यको निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

“हामी आफैँले आफ्नो पौरखको जगमा यो देशलाई बनाउनुपर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्नुपर्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

उहाँले स्रोत र साधनमा नेपाल समृद्ध रहेको तथा दुई ठूला राष्ट्रबीच रहेको देशको भूराजनीतिक संवेदनशीलतासँगै अवसर पनि उत्तिकै रहेको बताउनुभयो । पौडेलले सम्भावना हुँदाहुँदै पनि लामो समयदेखि देशका हजारौँ युवा विदेश पलायन हुने क्रम नरोकिएको उल्लेख गर्नुभयो । “सूचना र प्रविधिको उच्चतम् उपयोगबाट दुनिया तिव्रतर गतिमा अघि बढेको छ । मानिसका जीवन दिन प्रतिदिन सरल र सहज बन्दै गइरहेका छन् तर नेपाली जनताको जीवन उस्तै कष्टप्रद हुनु आजको शताब्दी सुहाउँदो कुरा होइन”, उहाँले भन्नुभयो ।

यसक्रममा शिक्षित युवाको रोजाई अष्ट्रेयिला, क्यानडा, श्रम र सीप भएका युवाको रोजाई मलेसिया, कतारजस्ता देश बन्न पुगेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो, “युवाको भरमा कतार र मलेसियामा आलिसान महल ठडिए, पूर्वाधार विकास गरियो तर हामी जसोतसो घिस्री रहेका छौँ । यस अवस्थालाई बदल्नु हाम्रो प्रमुख दायित्व हो ।”

मुख्यमन्त्री पौडेलले जनताले सुम्पिएको महत्वपूर्ण अभिभारा अनुसार सरकारले थुप्रै काम गरेको दाबी गर्नुभयो । उहाँले विश्वमञ्चमा सार्वभौम देशको हैसियतमा बलियोसँग उपस्थित हुने अवस्था निर्माण भएको बताउनुयो । सानो देशका गरिब जनता भन्ने हीन भावनाबाट मुक्ति मिलेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले भूगोल सानोठूलो होला, स्वाधिनता र स्वाभिमान समान हुन्छ भन्ने मान्यता स्थापित भएको तर्क थियो ।

उहाँले प्रजातन्त्रको यही मूलभूत मान्यताभित्र रहेर सङ्घीय सरकारले ताजा जनादेशको लागि प्रतिनिधिसभाको नयाँ निर्वाचनको घोषणा गरेको बताउनुभयो । “निश्चय नै निर्वाचनको विषयमा मत मतान्तर हुनसक्छ तर प्रजातन्त्र वा लोकतन्त्र निर्विकल्प छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।