त्रिविको स्नातक र स्नातकोत्तर तहको नयाँ शैक्षिक सत्र परिवर्तन

काठमाडौँ, १९ माघ । त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो ।

विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन महिनाबाट सुरु गरिने छ । यसअघि मङ्सिर महिनाबाट स्नातक तहको पठनपाठन सुरु गर्ने विश्वविद्यालयको नियम रहे पनि तीन महिनापछाडि सार्नुपर्ने अवस्था देखिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।

आगामी वर्षदेखि पनि स्नातक तहको शैक्षिक सत्र फागुनलाई नै मानिने भएको छ । यस वर्ष पनि विश्वविद्यालय मातहतका अध्ययन संस्थान तथा सङ्कायहरूले फागुनलाई नै आधार मानेर विद्यार्थी भर्ना कार्यक्रम प्रकाशित गर्ने भएका छन् । नियमित पठनपाठन १० महिना सकाएर १२ महिनामा वार्षिक परीक्षा सक्ने विश्वविद्यालयको तयारी छ ।

यसका साथै विश्वविद्यालयले स्नातकोत्तर तहमा वैशाख अन्तिमबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको छ । यसअघि चैतमा स्नातकोत्तर तहको शैक्षिक सत्र सुरु गर्ने गरिए पनि अब भने वैशाखबाट मात्रै शैक्षिक सत्र सुरु गर्ने तयारीमा आफूहरू पुगेको जानकारी शिक्षाध्यक्ष भुसालले दिए ।

हाल विश्वविद्यालयमा स्नातक तहका वार्षिक परीक्षाका कार्यक्रम सञ्चालन भइरहेका छन् । यसका आधारमा पनि स्नातकोत्तर तहको शैक्षिक सत्र वैशाखमै पुग्ने स्थिति देखिएको उनको भनाइ छ ।

यस पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको नतिजा पनि छिट्टै प्रकाशित गर्दैछ । बोर्डले गत मङ्सिर दोस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । बोर्डको कार्यतालिकालाई मिलाएर स्नातक तहको भर्ना खोलिएको जानकारी शिक्षाध्यक्ष भुसालले दिनुभयो । कक्षा १२ को नतिजा प्रकाशन र स्नातक तहको नयाँ भर्ना खोल्ने समयका बीचमा एक दुई महिनाभन्दा बढी फरक नहुने गरी मिलाइने जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित