काठमाडौँ, ११ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा अधिवक्ताहरुलाई बजारका हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा बोलेको र त्यो अदालतको मानहानीको विषय भन्दै उठाउनु खोजेपछि प्रधानन्यायाधीश जबराले बाहिरका कुरा लिएर नआउन आग्रह गरेका हुन ।
‘बजारका कुरामा नजानुस्, आफ्नो विषयमा जानुस्’ उनले भने । ‘सबै कुरा सिरियस छ, तर हामी बाहिर ध्यान मोड्दैनौं । बजारमा कसले कति भनिरहेका छन्, हामीले माइन्ड त्यता मोड्न हुँदैन ।’ उनले अघि भने, ‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्, वर्तमान हेर्नुस् । तपाईं आफ्नोमा जानुस् ।’
प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको ठाडो अवहेलना भएको र व्यक्तिको मानमर्यादामा आँच पुगेको भन्दै इजलासको ध्यानाकर्षण गराएका थिए ।
यसअघि इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेएको थिए । उनले यो विषय अहिले प्रवेश गराउने हो भने सरकारी पक्षलाई पनि बोल्न दिनुपर्ने र यसले विषय बाहिर जाने भन्दै रोकेका हुन ।