सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी (जसप)का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ ।
सप्तरीको राजविराजमा आज प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट भाग्न नचाहेको प्रस्ट पार्नुभयो ।
उहाँले वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको भन्दै यही पार्टीले हिमाल, पहाड र मधेशको हित गर्ने कुरा आमजनताले अनुभूति गरिरहेकाले जनलहर बढेको दाबी गर्नुभयो ।
प्रतिनिधिसभा पुनःस्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफूहरु आशावादी रहेको नेता महतोले विश्वास व्यक्त गर्नुभयो । सम्मानित अदालतको फैसला आफूहरुलाई मान्य हुने उहाँको भनाइ थियो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई विफल पार्ने प्रयास भइरहेकाले आफूहरुले त्यसका विरुद्ध आवाज उठाएको महतोले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन तर चुनाव समस्याको समाधान होइन, देशमा फेरी अर्को सङ्कट निम्तिने खतरा छ ।’ रासस