काठमाडौँ, ५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले सम्मानीत अदालतलाई तर्साउने तथा संविधानको हत्या गरेर मुलकुमा अस्थिरता खडा गर्ने तर्फ उद्धत रहेको आरोप लगाउनुभएको छ ।
डा. भट्टराईले “प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर, रामनाम जपेर बस्दैनौं” भन्ने अभिव्यक्ति दिनुभएको थियो । सोही प्रशंगलाई लक्षीत गर्दै अध्यक्ष थापाले संविधानमा रहेको अस्पष्टता र विवादको निरुपण गर्ने, व्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको अवस्थामा डा. भट्टराईले अदालतलाई दिएको अराजक अभिव्यक्ति भएको उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएकोछ, ‘संविधानमा रहेका अस्पष्टता र विवाद निरूपण गर्ने, व्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको अवस्थामा “प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर, रामनाम जपेर बस्दैनौं” भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको देखिन्छ ।’