काठमाडौँ, ५ माघ । प्रदेश १ का प्रचण्ड–नेपाल समूह झापाका थप तीन सांसद मुख्यमन्त्री शेरधन राईको पक्षमा उभिने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना सांसदले सोमबार औपचारिकरुपमा हस्ताक्षर फिर्ता लिने भएका हुन् ।
झापाका सांसद पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले प्रदेशसभा सचिवालयमा पुगेर औपचारिकरुपमा हस्ताक्षर फिर्ता लिन लागेको बताएका छन् । यसअघि उदयपुरकी सांसद कला घले र मोरङकी सांसद बसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिइसकेका छन् । योसँग अल्पमतमा परेका भनिएका मुख्यमन्त्री राई संसदीय दलमा बलियो अवस्थामा पुगेका छन् ।
प्रचण्ड–नेपाल समूहका भीम आचार्य पक्षले मुख्यमन्त्री राईलाई दलको नेता र मुख्यमन्त्रीबाट हटाउन ३७ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।