धनकुटा, ३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले संसद पुनस् स्थापनाले संघीय गणतन्त्रलाई विस्थापन गरेर राजतन्त्र स्थापना खोज्नेहरु भएको उल्लेख गर्दै संसद पुनस्र्थापनाको नारा पश्चगामी नारा भएको दाबी गर्नुभयो ।
ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आयोजना गरेको जिल्लास्तरिय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले नयाँ संसदको नारा भनेको गणतन्त्र सुदृढीकरणको नारा भएको बताउनुभयो । केहीलाई चुनावमा जाँदा पराजित भइन्छ भन्ने डरले चुनावमा जान डराएको बताउँदै मन्त्री थापाले अदालतले सरकारको निर्णयलाई सदर गर्ने विश्वास भएको बताउनुभयो ।
गृहमन्त्री बादलले गणतन्त्र स्थापनापछि प्रतिगामीहरुले गुमेको सत्ता हातमा लिन नेकपालाई फुटाउन लागि परेको बताउँदै प्रतिगामीहरुले नेकपाका असन्तुष्ट पक्ष पहिचान गरेर उनीहरुलाई प्रयोग नेकपा फुटाएको आरोप लगाउनुभयो । उहाँले नेकपाको नेतृत्वमा रहेर राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन नपाएकालाई हातमा लिएर अन्तरविरोध चर्काएको बताउनुभयो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत असोजमा ल्याएको प्रतिवेदनलाई लक्ष्यित गर्दै प्रतिगामीहरुले १९ पृष्ठको आरोपपत्र ल्याएको आरोप लगाउँदै उहाँले त्यसपछि प्रधानमन्त्री केपी ओलीमा आत्मासमर्पण र प्रतिरोध गरी दुईवटा विकल्प रहेकोमा प्रतिरोध गर्न संसद विघटन गरेको स्पष्ट पार्नुभयो । उहाँले बाह्य हस्तक्षेपलाई रोकेर राष्ट्रियताको रक्षा र स्वाधिनताको लागि आन्दोलन आवश्यक भएको धारणा राखनुभयो ।
गृहमन्त्री बादलले संसद विघटनबाटै आन्दोलनको थालनी भएको बताउनुभयो । नेकपा विभाजन भइसकेको र आन्दोलनकै माध्यमबाट फेरि एकताबद्ध गर्न सकिन्छ कि भनेर पार्टी नेतृत्वले संसद विघटनको निर्णय गरेको बताउँदै उहाँले पुरानो संसदले देशमा स्थायीत्व ल्याउन नसक्ने दाबी गर्नुभयो ।
ओली पक्ष नेकपा धनकुटाले आयोजना गरेका कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतम, केन्द्रीय सदस्य तथा प्रदेश १ अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य गोपाल गुरागाँईले मन्तव्य राख्नुभएको थियो ।