नेकपामा दुवै समूहका फरक-फरक रणनीति

काठमाडौँ, २ माघ । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह देशभर आवश्यक माहोल खडा गर्दै निर्वाचनको तयारीमा होमिएको छ भने नेकपाका माधवकुमार नेपाल र पुष्पकमल दाहाल समूह प्रतिनिधिसभा पुनस्र्थापना गराउन पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने रणनीति बनाउँदै छ । सो समूहले जसरी भए पनि निर्वाचन रोक्ने गरी आवश्यक गृहकार्य अघि बढाउने भएको छ ।

बिहीबार दुवै समूहको छुट्टाछुट्टै बसेको स्थायी कमिटी बैठकले आआफ्नै तयारीअनुसार आफ्ना एजेन्डालाई सफल बनाउने विषयमा छलफल गरेका छन् । ओली समूहले त निर्वाचनलाई निर्धारित समयमा सम्पन्न गर्न आफ्ना सबै कार्यकर्तालाई गाउँगाउँमा परिचालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहका स्थायी कमिटीको अनौपचारिक बैठकले सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी आवश्यक तयारीमा जुट्नुपर्ने निष्कर्ष निकालेको हो । १७ र २७ वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा यसअघि नै भइसकेको छ । निर्वाचन आयोगसमेत निर्वाचनको पूर्वतयारीमा जुटिसकेको छ ।

हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण तथा बैठकले पार्टीको पक्षमा सोचेभन्दा बढी जनलहर प्राप्त भएको निष्कर्ष निकाल्दै ओली समूह यस्ता कार्यक्रम निर्वाचनसम्म नै जारी राख्ने निष्कर्षमा पुगेको छ ।

छलफलमा सहभागी नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीद्वारा जारी प्रदर्शन, भेला, प्रशिक्षण तथा बैठकले प्राप्त जनलहरलाई निर्वाचनसम्मै जारी राख्ने निष्कर्ष निकालिएको बताए ।

‘प्रधानमन्त्रीज्यूले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिनुभएको छ,’ नेम्वाङले भने, ‘अहिले जारी प्रदर्शन, भेला प्रशिक्षणले नेकपाको पक्षमा जनलहर प्राप्त भएको र यसलाई निर्वाचनसम्म कायम राख्ने निष्कर्ष छ ।’

यसैगरी छलफलमा पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा भएको प्रगतिको विषयमा समेत समीक्षा भएको छ । ‘प्रधानमन्त्री ओलीले हामीलाई निर्वाचन आयोगमा भएको प्रगति, सर्वोच्चमा रहेको विचाराधीन मुद्दासहित अन्य विषयमा ब्रिफिङ गर्नुभयो र निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने निर्देशन दिनुभयो,’ नेम्वाङले भने ।

छलफलमा प्रधानमन्त्री ओलीले आफूहरू नै आधिकारिक नेकपा भएको र सूर्य चिह्न पनि आफूहरूले नै पाउने बताएका थिए । ‘हामी नै आधिकरिक हौं । प्रथम अध्यक्ष र महासचिव हामीसँग छ । विधानअनुसार प्रथम अध्यक्ष र महासचिवविना कसैले बैठक गर्न सक्दैन त्यसैले सूर्य चिह्न र नेकपा हाम्रै हो,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

उता नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि जारी आन्दोलनलाई अझै सशक्त बनाउने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको बैठकपछि नेकपा सचिवालय सदस्य एवं आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले बैठकले जारी आन्दोलनलाई थप सशक्त तथा प्रभावकारी बनाउने निष्कर्ष निकालेको बताए ।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेकाले पुनस्र्थापना हुन्छ,’ श्रेष्ठले भने, ‘अहिले जारी दोस्रो चरणको आन्दोलनलाई थप सशक्त एवं प्रभावकारी बनाउने बैठकको निष्कर्ष छ ।’दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित वक्तृत्वकलामा पद्मकन्या माविको कक्षा दसकी जस्मिन भुजेल प्रथम हुनुभएको छ ।

काठमाडौँ, १४ फागुन । काठमाडौँको दक्षिणकाली नगरपालिका-६ मा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  गएराती नाम्चेखानीबाट फर्पिङका लागि छुटेको

भैरहवा, १४ फागुन । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव (२१) र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव (२२) दुई

काठमाडौँ, १४ फागुन । कोरोना  भाइरस  सङ्क्रमणबाट  मृत्यु  हुनेको  सङ्ख्या  पुनः  थप  भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी 

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021