निर्वाचनको तयारीमा प्रम ओली: प्रचण्ड-नेपाल पक्ष आन्दोलनको रणनीतिमा

काठमाडौँ, २ माघ । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन् । बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राखे ।

नेकपा दाहाल–नेपाल समूह भने देशभर आन्दोलनको उभार ल्याउने रणनीति बनाउन तल्लीन छ । बिहीबार नै सोही समूहको स्थायी कमिटी बैठकमा विगतमा भएको आन्दोलनको समीक्षा गर्दै अबका दिनमा प्रतिनिधिसभा विघटन र प्रतिगमनविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भयो ।

दुवै पक्षले बिहीबार स्थायी कमिटी बैठक राखेका थिए। ओली समूहले बालुवाटारमा र दाहाल–नेपाल समूहले पेरिसडाँडामा बैठक राखेका थिए । ओली समूहका सदस्यले नेपाल–दाहाल समूह बाहिरिएपछि पार्टीमा उत्साह आएको भन्दै निर्वाचनको वातावरण बनाएर जानुपर्ने सुझाव दिएका छन् । त्यस्तै पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ ।  

दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यले प्रतिनिधिसभा विघटनविरुद्ध मुलुकभर सबै पक्षले आन्दोलन गरिरहेका कारण आफूहरू सही ठाउँमा रहेको र आन्दोलनलाई साझा बनाउनुपर्ने धारणा राखेका छन् । ओली समूहका महासचिव विष्णु पौडेलले पार्टीभित्र गहिरिएर छलफल भएको बताएका छन् ।

‘मूलतः सरकारले निर्वाचन घोषणा गरिसकेकाले त्यसमा केन्द्रित हुने विषयमा छलफल भएको छ, काठमाडौंमा रहेका स्थायी कमिटी सदस्यले पछिल्लो अवस्थाबारे धारणा राख्नुभयो,’ पौडेलले भने । देशभरबाट पार्टीको अवस्थाबारे जानकारी लिँदा बहुसंख्यक कार्यकर्ता आफूहरूतिर रहेको पाइएको पनि पौडेलले सुनाए । स्थायी कमिटी सदस्यको बिफ्रिङ सुनेपछि अध्यक्ष ओलीले सबै नेताहरूलाई ढुक्क भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरे । ओलीले सबै तहबाट निर्वाचनको वातावरण बनाउनुपर्ने बताउँदै हरेक निर्वाचन क्षेत्रमा निर्वाचनसम्बन्धी कार्यक्रम कार्ययोजना बनाउन सदस्यहरूलाई आग्रह गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको