बुटवल, १ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार सञ्चालनका लागि अनेक अप्ठ्यारा भएपछि बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु स्वाभाविक रहेको जनाउँदै लोकतन्त्रमा चुनाव अनिवार्य शर्त रहेको बताउनुभएको छ ।
माघीपर्वको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले उहाँले सरकार सञ्चालनका लागि अनेक अप्ठ्यारा भएपछि बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु स्वाभाविक रहेको जनाउँदै लोकतन्त्रमा चुनाव अनिवार्य शर्त रहेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा विघटन भई मुलुक चुनावी अभियानमा अघि बढेकोले घोषित चुनावलाई सफल बनाउन मिलेर अघि बढ्न आह्वान समेत गर्नुभएको छ ।
उहाँले लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुने भएकाले यही मान्यतालाई संवैधानिकरूपमा व्यवस्था गरेर लोकतान्त्रिक प्रणालीको जग बलियो र फराकिलो पारिएको उल्लेख गर्नुभयो । त्यस्तै संविधानले सबै जाति, समुदायका उत्थान र विकासमा जोड दिएको बताउनुभएको छ ।
उहाँले शुभकामना सन्देशमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीपर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ भन्नुभयो । सन्देशमा भनिएको छ “मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढिरहेको अवस्थामा संविधानको सफल कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर छ । संविधानको कार्यान्वयनको रूपमा अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिकरूपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त भएको छ ।”