काठमाडौँ, २९ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ बुझाएको छ ।
निर्वाचन आयोगका अनुसार दुबै समूहबाट पत्र प्राप्त भएको छ । पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन । ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । उनका अनुसार आयोगले मागेको पछिल्ला कागजातहरु, जवाफहरु बुझाएका हो ।
अर्का पक्षका नेता लीलामणि पोखरेलले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै सबै बुझाइसकेको जवाफ पठाएको बताए । निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो ।
आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको छ । प्राप्त विवरण हेरेर आयोगले निर्णय लिने जनाएको छ ।