दुर्गममा टेलिकमको सेवा विस्तार

बागलुङ, २७ पौष । सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका वडा नं ६ नर्जा र २ बोङ्खानीमा नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ । दुवै ठाउँमा बिटियस टावर राखेर सेवा दिइएको टेलिकम कार्यालयले जनाएको छ ।

शुक्रबारदेखि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डाटा सेवा पाएको कार्यालय प्रमुख इञ्जिनीयर केशव शर्माले बताउनुभयो । यसअघि ती दुवै गाउँमा मोबाइल सेवा सहज थिएन । भौगोलिक विकटताका कारण अन्यत्रका टावरको पहुँच पुग्दैनथ्यो । मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो । अब भने नर्जाका २५० र बोङ्खानीका ३५० घरधुरीमा मोबाइलको भ्वाइस र डाटा दुवै सेवा सहज भएको छ । नर्जासँगै छिमेकी गाउँ पात्ले, भित्रीवन र बोङ्खानी आसपासका पुस्डाँडा, लसुने, हिजा, लामाचौरलगायतका बस्ती सेवाबाट लाभान्वित भएका छन् ।

स्थानीयवासी मङ्गला आधारभूत विद्यालयका प्रधानाध्यापक लेखबहादुर छन्त्यालले मोबाइलमा कुरा गर्न डाँडातिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । “एक वर्षदेखि सेवाका लागि टेलिकमसँग माग गरिरहेका थियौँ, अहिले टावर बनेर पनि सेवा शुरु भइसक्यो, हामी सबै खुशी छौँ”, उहाँले भन्नुभयो ।

इन्टरनेटका लागि तत्काललाई दुवै टावरबाट थ्रिजी सेवा सञ्चालन गरिएको वरिष्ठ इञ्जिनीयर शर्माले बताउनुभयो । ती ठाउँमा पछि थ्रिजीलाई स्तरोन्नति गरी फोरजी सेवा दिने टेलिकमको योजना छ ।नर्जा र बोङ्खानीमा अन्य दुरसञ्चार सेवा प्रदायकको समेत अहिलेसम्म सेवा पुग्न सकेको थिएन । वडा नं ६ का वडाध्यक्ष कुलबहादुर छन्त्यालले मोबाइल सेवाले स्थानीयवासीको दैनिकी सहज बनेको बताउनुभयो ।

उहाँका अनुसार तीव्र गतिको इन्टरनेट सेवाका लागि फोरजी विस्तारको काम पनि धमाधम भइरहेको छ । धवलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हालसम्म ६५ ठाउँमा फोरजी सेवा सञ्चालन भइसकेको छ । बाँकी झण्डै ५० ठाउँमा फोरजी सञ्चालनको तयारी भइरहेको छ । टेलिकमले ग्राहकको माग र डाटाको खपत बढी हुने ठाउँमा पहिले फोरजी सेवा विस्तार गर्ने गरेको छ । फोरजी सेवाले डाटा र भ्वाइस दुवै सेवामा उल्लेख्य सुधार आएपछि प्रयोगकर्ता पनि सन्तुष्ट बन्न थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६

काठमाडौँ, १२ असोज । कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको