काठमाडौँ, २५ पौष । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ ।
काठमाडौँमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुने छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो ।
उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् ।
उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुने छ । उक्त खेल कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ ।