काठमाडौँ, २९ मंसिर । अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।
पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकले खोप पाउनेछन् । अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाइनेछ । भोली अरु ४ सय २५ ठाउँमा खोप दिइने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज उपलब्ध छ ।
अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको छ । अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन सबै प्रक्रिया पूरा गरिएको छ । ती कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।
फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया र बहराइनले अनुमति दिइसकेका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म एक करोड ६७ लाख ११ हजार कोरोनाबाट सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये तीन लाखभन्दा धेरैको ज्यान गएको छ भने ९७ लाख १३ हजार निको भएका छन् ।