भक्तपुर, २६ मंसिर । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित महांकालेश्वर आधारभुत विद्यालयको पक्की भवन शिलान्यास गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त भवनको विधिवत रुपमा शिलान्यास गर्नुभएको हो ।
नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ९शिक्षा०, भक्तपुरद्वारा सूर्यविनायक नगरपालिका वडा नं १० चितापोलको लापुलिमा महांकालेश्वर आधारभूत विधालयको ४ कोठे २ तले पक्की भवन, शौचालय र शुद्ध खानेपानी निर्माणको लागि विधिवत् रुपमा शिलान्यास सम्पन्न भएको छ । रु ६९ लाख भवन, १४ लाख शौचालय र ८ लाख खानेपानी गरी जम्मा रु ९१ लाखको लागतमा निर्माणको सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा शिक्षाको क्षेत्रमा ऐतिहासिक उपलब्धीको यात्रा तयार भएको उल्लेख गर्नुभयो । भक्तपुरमा अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक बर्षमा ऐतिहासिक बजेटको व्यवस्थापन भई ऐतिहासिक उपलब्धी हासिल गरेको उल्लेख गर्दै उहाँले भक्तपुरका सामुदायीक विद्यालयका भवनहरु अब कच्ची कुनै पनि नहुने उद्घोष गर्नुभयो ।
भवनसँगै अबका दिनमा विद्यार्थीको संख्या वृद्धि गर्ने तथा शैक्षिक गुणस्तरियतालाई उल्लेख्य वृद्धि हुने प्रकारको हुनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीको संख्या कम भएमा मर्ज गरी व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सामुदायीक विद्यालयहरुले समेत स्कुल बसहरुको व्यवस्थापन गरेमा आकर्षण बढ्ने साथै हुने खाने र हुँदा खानेबीचको शिक्षाको खाडल समेत पुरिनेमा विश्वास व्यक्त गर्दै सांसद बस्नेतले भक्तपुरमा भुकम्पका कारण क्षतविक्षत भएका विद्यालयका पुनः निर्माण लगभग सम्पन्न हुन लागेका बताउनुभयो । उहाँले ८० वटा विद्यालय निर्माण भइसकेको र एक दुईवटा बाहेक जिल्लाका सम्पूर्ण सामुदायीक विद्यालयहरु निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । विद्यालयको लागि निजी शिक्षकहरुको व्यवस्थापनमा नगरपालिकासँगको सहकार्यमा गर्न सकिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
उक्त स्थानमा शिक्षा, सडक, यातायात, विद्युतलगायतका क्षेत्रहरुमा सुधार गर्दै काभ्रेबाट आउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्घोष गर्दै उहाँले विगतमा केही समस्या भएता पनि चालु आर्थिक वर्षमा भंगाल–खड्का गाउँ, दोलाल गाउँबाट खड्का गाउँलगायतका सडकहरु निर्माणको क्रममा रहेको विस्तृतमा जानकारी दिनुभयो । आफ्नै कार्यकालमा उक्त सडकहरु कालोपत्रे भइसक्ने गरी कामहरु भइरहेको समेत उल्लेख गर्नुभयो । जनताका मागहरु क्रमिक रुपमा पुरा गर्दै लैजाने उल्लेख गर्दै उहाँले चित्तपोल अब दुर्गम नभई सुगम र व्यवस्थित ठाउँ बन्ने समेत बताउनुभयो ।
कार्यक्रममा आयोजना प्रमुख भरत श्रेष्ठ, वडा नं. १० का अध्यक्ष शिवराम राउत, वडा नं. ८ का वडाध्यक्ष किरण थापा र भक्तपुर जिल्ला खानेपानी महासंघ र गुण्डू वृहत् खानेपानीका अध्यक्ष मनकराम थापालगायतको उपस्थिती रहेको थियो ।