काठमाडौँ, २५ मंसिर । काँग्रेसले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ ।
आज बसेको पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठकले प्रतिबन्धित नेकपालाई हत्याहिंसा छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको हो ।
बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मोरङमा गरेको शिक्षक हत्याको विरोध गर्दै हत्यामा संलग्नमाथि कारबाहीकोसमेत माग गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । मंगलबार नेकपाले मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको थियो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा मंसिर २९ गते निर्धारण गरेको सरकारविरुद्धको देशव्यापी विरोध प्रदर्शनलाई प्रधवकारी बनाउने विषयमा छलफल भएको उनको भनाइ छ ।