६ लाख ६ हजार ५०५ निजी आवास पुनःनिर्माण

काठमाडौँ, १२ मंसिर । भूकम्पपछिको  पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तरक्रिया तथा अभिलेख गर्न इन्टरनेटमा आधारित वेबिनार शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकार, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव तथा टिप्पणी प्राप्त गर्न कार्यक्रम गरिएको हो । 

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणका अनुभव आदानप्रदान गर्न विज्ञ तथा अभ्यासकर्ताबाट प्राप्त सुझावले सहयोग गर्ने बताए । प्राधिकरणले अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गरी अनुभव आदानप्रदान गर्ने तयारी गरेकामा कोरोना भाइरसको सङ्क्रमणका कारण केही ढिला हुने जनाइएको छ । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतमा देखिएका कमीकमजोरी सच्याउँदै आगामी दिनमा पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाए ।

 प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनःनिर्माणका पाँच वर्षका अनुभव तथा सिकाइ समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कार्यपत्र तयार गरिरहेको छ । आज उद्घाटनलगत्तै निजी आवास पुनःनिर्माणसम्बन्धी पत्र कार्यकारी सदस्य डा.चन्द्रबहादुर श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्र्दैं उनले शहरी क्षेत्रमा कम जमिनमा बनेका घरमा बहुस्वामित्वका कारण केही समस्या आएको बताए ।

प्रवलीकरण लाभग्राही सूचीमा रहेका भूकम्पपीडितको पुनःनिर्माण सुस्त रहेको जानकारी सो अवसरमा गराइएको थियो । ग्रामीण क्षेत्रमा निजी आवास पुनःनिर्माण अन्तिम चरणमा पुगिसकेको प्राधिकरणले जनाएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ३४ हजार ९११ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।  

लाभग्राही सूचीमा समावेश भएकामध्ये ७७ हजार ३२५ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म सात लाख ९१ हजार ७८७ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् । जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख छ हजार ५०५ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्नेछ । पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने छ । तेस्रो किस्ता लिन २०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नुपर्नेछ । 

दोस्रो कार्यपत्र सांस्कृतिक सम्पदा पुनःनिर्माण सम्बन्धमा प्रस्तुत भएको छ । कार्यपत्र प्रस्तुत गर्नुुहुँदै पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले हालसम्म भूकम्पले क्षति पुगेका आधाभन्दा बढी संरचना पुनःनिर्माण सम्पन्न भएकाले आगामी दुई वर्षमा सबै सम्पदा ठड्याइसक्ने प्रतिबद्धता जनाएका छन् । 

भूकम्प प्रभावित ३२ जिल्लाका ९२० वटा सम्पदामा क्षति पुगेको तथ्याङ्क छ । हालसम्म ५०० भन्दाबढी सम्पदा पुनःनिर्माण भइसकेका छन् । विभिन्न विषयगत अध्याय तयार गर्न प्राधिकरणका अधिकारी एवं विज्ञ संलग्न रहेका कार्यसमूह गठन गरिएको थियो ।

प्राधिकरणले निजी आवास पुनःनिर्माण, सार्वजनिक भवन तथा पूर्वाधार, साँस्कृतिक सम्पदा, जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी ६ वटा विषयगत क्षेत्रमा संस्थागत पत्र तयार गरिरहेको छ । थप एउटा पत्र प्राधिकरणको लगानीबाट आर्थिक, सामाजिक प्रभाव अध्ययन गरिन लागेकाले सोको अध्ययन गर्ने ढाँचाको सम्बन्धमा प्रस्तुतीकरण गरी सो सम्बन्धमा समेत सुझाव सङ्कलन गरिनेछ  । आजै सार्वजनिक भवन तथा पूर्वाधारसँग सम्बन्धित विषयगत अध्यायमा प्रस्तुतीकरण र छलफल हुनेछ । दोस्रो दिन शनिबार बाँकी तीन वटा विषयगत अध्यायमा छलफल हुनेछ ।   वेविनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधि, अन्तरराष्ट्रिय विज्ञहरु, विज्ञ तथा अभ्यासकर्ता, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको उपस्थिति छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्