काठमाडौँ, १८ कार्तिक । इन्डियन प्रिमियर लिग ९आईपीएल०मा दिल्लीले रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले हराएको छ ।
अबुधाबीस्थित शेख जायद रंगशालामा सोमबार भएको म्याचमा रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले पराजित गरेर १६ अंक सहित दिल्लीले क्वालिफायर यात्रा सुनिश्चित गरेको हो । बैंगलौरले दिएको १५३ रनको लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा १९ औं ओभरमा पुरा गरेको हो ।
अंक तालिकाको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्स र दिल्लीबीच आगामी बिहीबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा क्वालिफायर–१ मा प्रतिस्पर्धा हुनेछ । विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टीमले इलिमिनिटर विजेताबीच खेल्नेछ ।
दिल्लीसँग पराजित भएको बैंगलौरको पनि प्लेअफको स्थान सुरक्षित भएको छ । कोलकाता नाइट राइडर्ससँग समान १४ अंक भए पनि नेट रन रेटको आधारमा बैंगलोर तेस्रो स्थानमा छ । बैंगलौरले शुक्रबार कोलकाता र सनराइजर्स हैदरावाद मध्ये एक टीमसँग अबुधाबीमा इलिमिनिटरमा खेल्नेछ ।







